न्याय खोज्ने कि प्रेमी ?

न्याय खोज्ने कि प्रेमी ?

आज जारी छ, प्रणय दिवस । प्रेम, सद्भाव र उमङ्गको पूर्वसन्ध्यामा सिंहदरबार वरिपरि भने महिला मार्चपासमा जुटेका छन् युवाहरु । प्रेम दिवसको माहोलमा महिला मार्चपास किन? प्रेम दर्शाउने समयमा बलात्कारी पत्ता लगाउन सरकारसँग माग गर्दै सडकमा जुलुस लगाउनुपर्ने कस्तो बिडम्बना ?

प्रेमको नाममा हामी कहाँ कतै रानीमहल बन्यो त कतै रानीपोखरी । मुनामदन र रोमियो जुलियटको कथा अनि टाइटानिक फिल्म नरुचाउने विश्वमा कमै होलान् ।

तर,त्यही प्रेमको नाममा लुटिनेहरुको कथाभने न त यो प्रणय दिवसले उजागर गर्यो । दैनिक रुपमा थुप्रै निर्मला अनि भागरथीहरु बलात्कृत भएर मारिन्छन् । तथ्याङ्कमा हेर्ने हो भने नेपालमाबार्षिक ५ हजार भन्दा बढीको संख्यामा बलात्कार भएको देखिन्छ । बलात्कारका जतिपनि घट्ना हुन्छन्, सबैलाई प्रेमसँग जोडिदिन्छन् ।

बलात्कारी खुलेआम घुमिरहदा कुनै सजाय हुँदैन । हुन्छ त केवल पिडितमाथि थप अन्याय । त्यसैले त महिला मार्चपासमा नाराहरु गुन्जिन्छन्,‘अपराधी खुलेआम, पिडित गुमनाम ।’

न्यायको खोजीमा भौतारिएका निर्मलाहरुको आत्माले निरासा बाहेक अरु केहि पाएका छैनन् । छोरीको जन्मसँगै घर भित्रिएका खुशीहरु बलात्कार पछिको हत्याले रोदनमा बदलिएको छ । कतिपय आमाबुबाले न्यायको अनुभुतिसम्म गर्न पाएका छैनन् । जसले अपराध गर्यो, उसले कुनै सजाय भोग्नु पर्दैन । तर पिडित जसले कुनै गल्ती नै गरेको हुँदैन, उसैले धेरै सजाय भोग्नुपर्छ ।

एउटी बलात्कृत भएकी छोरी मान्छेलाई आफ्नै घरपरिवार र आफन्तले पनि सजाय दिइरहेका हुन्छन् । बलात्कृत भएको थाहा पायो भने समाजले बहिष्कार गर्ला, परिवारको इज्जत जाला? बिहेवारी नहोला कि भन्ने आशंकामा छोरी बलात्कृत भएको कुरा लुकाएर राख्छन् । यसरी घटना लुकाएर राख्दा पिडितको मानसिकतामा कस्तो असर पर्छ भन्नेबारे कसैको चासो छैन । चासो छ त केवल समाजमा इज्जत जाने डरको । कारणबस घटना बाहिरियो भने पनि प्रेम सम्बन्धलाई देखाएर घटना मिलाइन्छ।

यसपछि सुरु हुन्छ उसको नितान्त व्यक्तिगत कुराहरुको खानतलासी । मोबाइल फोनमा कस्को फोन आएको थियो, कस्तो म्यासेज आएको थियो, कोसँग कता-कता गएको थियो ?अझ ताजुब लाग्ने कुरा त के छ भने कस्तो खालको लुगा लगाएको थियो ? के पहिरनकै आधारमा बलात्कृत हुनुपर्ने हो त ? यदि पहिरन नै बलात्कारको कारण हो भने ८ महिने अनि ६ वर्षे नानीहरु किन लुटिए ?

चाहे परिवार होस वा न्यायिक प्रशासन, गल्तीको भागीदार पिडकलाई होईन त्यही पिडितलाई नै बनाउँछन् । जबसम्म यो समाजको हेर्ने दृष्टिकोण अनि सोच फेरिदैन, यस्ता घटनाहरु घटिनै रहनेछ । महिलालाई एउटा प्रयोगको रुपमा लिने मानसिकताले जति नै प्रणय दिवस मनाए पनि व्यवहार भने तल्लो स्तरकै रहन्छ ।

एकले अर्काेलाई मान सम्मान दिन्छ प्रेममा । चाहे पारिवारिक प्रेम होस् या दुई प्रेमीबिचको प्रेम । सम्मानको आवश्यकता छ । आठ महिने बालिकादेखि ७५ बर्षिय बृद्धाको बलात्कार हुने समाजमा प्रेमलाई कुन नजरले हेरिन्छ ? त्यो त सबैलाई थाहा भएकै कुरा हो । तर पनि प्रणय दिवसको उल्लासमा रमाउनेहरुको कमी भने छैन । वर्षेनि लाखौं रुपैयाँको गुलाफ  आयात गरेरै भएपनि प्रेम दिवस जारी छ । समाज यदि यति प्रेममय छ भने प्रेमको नाममा दैनिक किन घट्छन् त बलात्कारका घटना ? सोचनिय छ ।

राज्यका जिम्मेवार व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री,गृहमन्त्रीका अनुसार विश्वकाथुप्रै देशहरुमा यस्ता घटनाहरु घटिरहेका छन् । अन्य देशको तुलनामा नेपालमा धेरै कम भएको उनीहरुको दावी छ ।

राज्यस्तरमा बसेका व्यक्तिहरुको यो भनाईले बलात्कारी मानसिकता बोकेकाहरुलाई प्रोत्साहन त गरिरहेको छैन ? यदि त्यसो हो भने निर्मला र भागरथीहरुलाई न्यायदिन सरकार किन अघि सर्दैन ? राज्यको विभेदकारी नीतीमा कोरिएको समाजको सँस्कृतिले स्वतन्त्रका साथ प्रणय दिवस मनाउने अवसर देला त ? भिजिट भिसामा विदेश जाँदा वडाको सिफारिस माग्ने सत्ताले खुल्लमखुल्ला प्रेमभाव साट्न देला त ? यस्तै प्रश्नको उत्तर खोज्दै हजारौं युवाहरु सिंहदरबार वरिपरि हातमा प्लेकार्ड बोकेर उभिएका छन् ।

साना नानी देखि बृद्धाहरु बलात्कृत हुँदा अपराधि पत्ता लगाउन नसक्ने यो सत्ताले प्रेमीहरुलाई साथ दिन्छ भन्ने कुरा त कल्पना मात्रै हो । छोरीको हत्यारा पत्ता लगाउन दिनरात आँसुको आहालमा डुबेका बाबु आमाको रोदन नसुन्ने सत्ताले झन मायाको कुरा बुझ्ला र हजुर †