मलेसियामा नेपालीलाई कोरोना विरुद्दको खोप निःशुल्क, अवैधानिकलाई पनि अवसर

मलेसियामा नेपालीलाई कोरोना विरुद्दको खोप निःशुल्क, अवैधानिकलाई पनि अवसर

मलेसिया। मलेसियामा बसोवास गर्दै आएका नेपालीहरुलेसमेत कोभिड–१९ विरुद्धको खोप निःशुल्क पाउने भएका छन्। आप्रवासी श्रमिकले मलेसियाको आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै तथा अन्य देशहरुले त्यहाँ रहेका मलेसियन नागरिकलाई निःशुल्क खोप उपलव्ध गराएको हुँदा मलेसियामा कार्यरत विदेशी नागरिकहरुलाई पनि निःशुल्क खोप दिन लागिएको हो।

मलेसियाले आफ्नो देशमा बस्दै आएका विदेशी नागरिकलाई पनि कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिने घोषणसँगै अवैधानिक रुपमा बसोवास गर्दै आएका विदेशी नागरिकलेसमेत यो खोप पाउने भएका छन्। मलेसियामा थुप्रै नेपालीहरु पनि अवैधानिक रुपमा बसोवास गर्दै आइरहेका छन् । मलेसिया सरकारले ‘आफ्नो सुरक्षा गरौं, सबैलाई सुरक्षित बनाउँ’ अभियान सुचारु गरि अंग्रेजी महिना फेब्रुअरीको अन्तिम साताबाट खोप दिन सुचारु गर्ने बताएको छ।

खोप पाउनेमा प्रमुख प्राथमिकतामा भने मलेसियन नागरिक रहनेछन्। गैर मलेसियन नागरिकले कहिलेदेखि खोप सुविधा प्राप्त गर्नेछन् भन्ने जानकारी प्राप्त भइसकेको छैन। ‘हर्ड ईम्यूनिटी’ विकासका लागि सकेसम्म छिट्टै खोप अभियान सुरु गर्ने मलेसिया सरकारको योजना छ।

मलेसियाका विज्ञान मन्त्री खेरी जमालुद्दिनले अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकका साथै कुटनीतिक नियोगका कर्मचारी, विदेशी नागरिक, विदेशी नागरिकका श्रीमान श्रीमति तथा छोराछोरीहरु तथा शरणार्थीहरुलाईसमेत निःशुल्क रुपमा खोप दिने निर्णय मन्त्री परिषदले गरिसकेको जनाएका छन् ।