यूएईस्थित नेपाली दूतावासमा फैलियो कोरोना, राहदानी नविकरणका लागि दूतावासमा नआउन अपील

यूएईस्थित नेपाली दूतावासमा फैलियो कोरोना, राहदानी नविकरणका लागि दूतावासमा नआउन अपील

दुबई । राहदानी नविकरणका सेवाका लागि दूतावासमा नआउन आबुधाबीस्थित नेपाली दूतावासले अपिल गरेको छ। दूतावासले सूचना जारी गर्दै राहदानी नवीकरण गर्नुपर्ने भए हुलाक तथा कुरियरमार्फत पठाउन आग्रह गरेको छ।

कोभिड-१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएपछि दूतावासले नयाँ नियम लागू गरेको हो।

सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भन्ने हेतुले राहदानी नविकरणको लागि हुलाकमार्फत आवेदन संकलन गर्न लागिएको दूतावासले जनाएको छ।

दूतावासले २०७७ फागुन २ गतेदेखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउन अनुरोध गरेको छ।

राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइटमा हेर्न सकिनेछ ।