‘तिम्रो र्‍यालीमा आएकाहरुले मेरा बहिनीहरुका लागि न्याय मागिदिए अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि?’

‘तिम्रो र्‍यालीमा आएकाहरुले मेरा बहिनीहरुका लागि न्याय मागिदिए अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि?’

काठमाडौं । पछिल्लो समय देशमा बलात्कारका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । अझ बालिका अपहरण, बलातकारपछि हत्या गरिएका समाचार दिनदिनै आउन थालेका छन् ।

गएको बुधवार मात्रै बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले अहिले सामाजिक संजाल तातेको छ । १२ कक्षामा अध्ययनरत उनको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ ।

यो घटनाले महिलाहरुलाई अझै त्रसित र चिन्तित बनाएको छ । देशमा बढेको बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा विभिन्न व्यक्तिहरुले आक्रोश व्यक्त गरिरहेका छन् । केही दिनअघि मात्रै अभिनेत्री नीता ढुंगानाले नारीलाई अपमान नभइ सम्मान गर्न आग्रह गर्दै सामाजिक संजाल फेसबुकमा एउटा पोष्ट लेखेकी थिइन् ।

त्यस्तै अभिनेत्री वर्षा शिवाकोटीले पनि यस विषयलाई लिएर समाजिक संजाल फेसबुकमा एक पोष्ट लेखेकी छिन् । उनले नारीलाई भगवान मानेर पूज्ने देशमा निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ? भनेर प्रश्न गरेकी छिन् । यती मात्रै नभएर उनले न्याय दिन नसकेको भन्दै न्यायपालिका र राज्यव्यवस्थामाथि नै प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘नारीलाई भगवान मानेर पूज्ने देशमा आज नारी स्वयं सुरक्षित छैनन् । निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त ? के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कम्जोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधिको पहिचन गरि, सजाय दिन नसक्ने ? के गरीबका लागि न्याय त्यति महँगो भइसक्यो ?’

उनको कलम यत्तिमै रोकिँदैन उनी थप्छिन्, ‘तिम्रो र्‍यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए फेरी अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि ? तिम्रो आन्दोलनको नारा यदी बलात्कार र बलात्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलात्कारीले सजाय पाउँथ्यो कि ? हामी केका लागि लड्दै छौँ ? हाम्रो माग के हुनपर्ने हो ? नारा के हुनपर्ने हो ? आफै विचार गरौँ ।’

उनी अगाडि लेख्छिन्, ‘अपराधीको मनोबल झन बलियो बन्दै छ । पीडित अझै पीँडामै छन् । जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसक्यो र देश झन झन अस्थिरतातर्फ जाँदैछ । कुर्सीको लडाइँ छोड, सत्यको लागि लड, जनाताको पक्षमा लड, जीत तिम्रै हुनेछ । न्याय दिन अझ विलम्ब नहोस ।’