भिजिट भिसामा यूएई नआउन दूतावासको आग्रह

भिजिट भिसामा यूएई नआउन दूतावासको आग्रह

दुबई । आबुधाबीस्थित नेपाली दूतावासले रोजगारीको लागि भिजिट भिसामा यूएई नआउन आग्रह गरेको छ । नेपालबाट पछिल्लो समय भिजिट भिसामा यूएई आउने क्रम बढेपछि दूतावासले त्यसो नगर्न आग्रह गरेको हो।

पछिल्लो समय भिजिट भिसामा आउने नेपाली ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेको तथा अन्य विभिन्न अप्ठ्यारोमा गूनासो बढेको भन्दै दूतावासले सचेत गराएको छ ।

भिजिट भिसामा आएर रोजगारी गर्नु कानून विपरीत हो। वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ ले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्था गरेको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानूनी व्यवस्था छैन ।

यसरी भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने, भिजिट भिसामा बोलाउनेले नै अलपत्र पारिदिने र मानव तस्करको सञ्जालसम्म पुग्ने जोखिम हुनसक्ने दूतावासले जनाएको छ।

यस्तै भिजिट भिसामा गएर काम गर्ने क्रममा अलपत्र परेको वा समस्यामा परेको खण्डमा म्यानपावर कम्पनी वा सरकारी निकाय पनि जिम्मेवार नहुने भएकाले काम गर्ने उद्देश्य हो भने श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले आग्रह गरेको छ।