प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन

प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन

लण्डन। नेकपाको विदेशस्थित भ्रातृ सँस्थाका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन भएको छ। नेकपाभित्रको केपीशर्मा ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाले भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ।

मञ्चका पूर्वअध्यक्ष रामशरण सिम्खडाका अनुसार, गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले एक सय २५ (हाल ९९ सदस्य र पछि बाँकी थप्ने गरी) सदस्यीय केन्द्रिय कार्यसमिति पनि गठन गरेको छ ।

बेलायतका अन्य विभिन्न क्षेत्रलाई समेत समेटेर हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताइएको छ। यसरी गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईं, साउथ वेष्टबाट रामकुमार गुरुङ र स्कटल्याण्डबाट जोनी पहारी रहेका छन्।

१२ जना उपाध्यक्ष रहने गरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्व एमालेका तर्फबाट र महासचिवमा पूर्व माओवादीका तर्फबाट सुरेशजङ्ग शाह रहेका छन्। नेकपा भित्रको केन्द्रिय विवादको असर मञ्चमा पनि परेको छ । यसैले मञ्चको पुर्नगठन गरिएको हो।

आइतबार सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गर्दै पूर्व सभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भइसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताए।

कार्यक्रममा गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्थ गर्न लागेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए । गृहमन्त्री थापाले भने,‘अब हुन गइरहेको चुनावमा गलत विचार बोक्नेलाई परास्त गरिनेछ ।’