विदेशमा कोरोनाले थप ३ नेपालीको ज्यान गयो

हालसम्म मुत्यु हुने नेपालीको संख्या ३ सय ३३

विदेशमा कोरोनाले थप ३ नेपालीको ज्यान गयो सांकेतीक तस्वीर

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ ।

यो साता बेलायतमा २ र अल्जेरियामा १ जनाको संक्रमणका कारण निधन भएको गैरआवासीय नेपाली संघ,स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले बताए ।

योसँगै कोरोना संक्रमणका कारण विदेशमा निधन हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ । विभिन्न २१ देशमा नेपालीको ज्यान गएको हो ।

संयोजक डा. सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

स्वास्थ्य समितिले जनाए अनुसार,यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ।

खोप कसले लगाउने कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ । मुटु, मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सक्छन । खोपको पहिलो मात्राले नकारात्मक प्रभाव परयो भने अर्को डोज लगाउनुहुँदैन ।
ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी लगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् ।

१८ वर्ष भन्दा कम उमेरका लाई पनि खोप लगाउन सिफारिस गरिएको छैन । खोप लगाएको तीन देखि छ सातामा मात्रै अर्को डोज लिनुपर्छ । दोस्रो डोज लिएको चार सातापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्यो भन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरुलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो डोजको खोप सोही कम्पनीको लगाउनुपर्छ जुन पहिलो डोज लगाइएको छ ।

हाल बजारमा आएका खोपहरुको प्रभावकारिता,तिनका असर लगायतका बारेमा निक्र्यौल गरेरै भन्न नसकेपनि अनुमोदित सबै खोपहरु संक्रमणको विरुद्धमा ९० प्रतिशत माथि नै प्रभावकारी पाइएका छन् । जुन निकै सकारात्मक पक्ष हो ।

खोपका असरहरु कसरी थाहा पाउने ? सबैभन्दा पहिले त खोप लगाउँदा आफ्नो शारीरिक स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गरेर उनीहरुकै प्रत्यक्ष निगरानीमा खोप लगाउनुपर्छ।

तर, खोप लगाइसकेपछि त्यसले आफ्नो शारीरिक स्वास्थ्य अनुकुल प्रतिक्रिया देखाउँछ कि विपरित भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।

खोप लगाइसकेपछि स्वासप्रश्वास प्रणालीमा समस्या देखियो,जस्तै घाँटी अठ्याँएजस्तो अनुभव हुनु, श्वास फेर्दा छोटो भएजस्तै वा घ्यारघ्यार हुनु, खोकी लाग्नु, वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु, रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु लगायतका नकारात्मक प्रतिक्रिया देखिन सक्छन् ।

कसैकसैलाई जीउभरि फोका उठेर चिलाउने तथा ओठ,अनुहार वा घाँटी सुन्निने पनि हुन सक्छ । यस्ता समस्या देखिएमा आफूले परामर्श गरिरहेको चिकित्सकसँग सल्लाह लिने वा नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ । तर, यहाँ बुझनैपर्ने कुरा के हो भने जसरी कोरोनाका लक्षण र प्रभाव मानिस अनुसार फरक फरक हुन्छ त्यसैगरि खोपको असर पनि फरक हुन सक्छ । कसैलाई खोपले गम्भीर खाले समस्या देखिन सक्छ त कसैलाई सामान्य । यद्यपी हालसम्म खोप लगाएपछि गम्भीर असर परेको घटना पाइएको भने छैन।

खोप बजारमा ल्याउनुपूर्व नै धेरै चरणमा क्लिनिकल परिक्षण गरिएको हुन्छ । जसले गर्दा डराइहाल्नुपर्ने अवस्था रहदैन । ढुक्क भएर खोप लगाउन सकिन्छ । तर खोप लगाइसकेपछि एन्टीबडी बन्न चार सातासम्मको समय लाग्ने भएकाले उक्त अवधिभर भने स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाउनै पर्छ ।