मलेसियाको जेलमा नारकीय जीवन विताएर फर्किएपछि पनि भोलन फेरि विदेश जाने सोच्दैछन

मलेसियाको जेलमा नारकीय जीवन विताएर फर्किएपछि पनि भोलन फेरि विदेश जाने सोच्दैछन तस्वीर : नरेन मोक्तान/प्रवास खबर

काठमाडौं । भिजेको तपाईको छातिमा निदाउन म चाडै आउँदैछु

कवि नवराज पराजुलीको ठयाक्कै यही भाव बोकेर फेब्रुवरी ४ मा एउटा लक्का जवान आफ्नो देश फर्कियो ।

ती ३३ वर्षीय युवा थिए,सप्तरीका भोलन महतो ।

आजभन्दा ११ वर्षअघि उनी मलेसिया हानिए । हेल्परको काम,ठिकै चल्दै थियो । बेलाबेखत घरमा पैसा पनि पठाइरहेका थिए । भर्खर बिहे गरेका थिए । जिम्मेवारीको बोझ टाउकोमा बोकेका थिए।

तर, ५ वर्षअघिको कुरा हो । कम्पनीले विभिन्न वाहनामा भोलनलाई दुख दिन थाल्यो । आफूले ६ वर्ष काम गरिसकेको कम्पनीले तलब कटौती गर्न थाल्यो । कम्पनीले दुई महिना बेतलबी बिदामा बस्न भन्यो । त्यसपछि घर जान टिकट दिन्छु भन्यो । कम्पनीको प्रस्तावमा उनी सहमत हुने कुरा भएन । सुपरभाइजरसँग आफ्नो पासपोर्ट मागे । उसले घुस माग्यो । ३ हजार रिङ्गिट । पासपोर्ट लिनु थियो । उनले तोकिएको घुस दिए । पासपोर्ट लिए ।

जेलमा आफूलाई यसरी पीडा दिइन्थ्यो भनेर मिडियाकर्मीलाई देखाउँदै भोलन । यस्तो बनाएर आफूलाई पछाडीबाट कुट्ने, ट्वाइलेटको पानीले हान्ने गरेको उनको भनाइ छ

६ वर्ष बिताइसकेको कम्पनीमा काम गर्ने मुड हरायो । पासपोर्ट लिएर उनी त्यहाँबाट भागे । त्यसपछि जहाँ जे काम भेटे उनले गरे ।

कुनै कम्पनीमा उनी सुरक्षागार्डको हैसियतमा काम गर्दै थिए ।

जसै कोरोना कहर शुरु भयो । भोलनको भोलाभाला जिन्दगीमा पनि कहर शुरु भयो । वर्ष २०२० । महिना मे । गैरकानूनी हैसियतमा बसेका उनी समातिए।

त्यसपछि मलेसियाको जेलमा उनका कहाली लाग्दा दिनहरु शुरु भए । ‘झण्डै ९ महिनाको जेल जीवनमा मैले पाउनुसम्मको सास्ती पाँए, भोलनले प्रवास खबरसँग भने,‘जेलमा मलाई फोहरपानीको फोहराले हान्नेदेखि अनेक शारिरिक दुख दिने काम भयो ।’

उनलाई लाग्थ्यो,अब यो नारकीय जीवनबाट उम्किन सजिलो छैन । जेलभित्र बस्दा आमा सम्झिएर रोए,बुवाको याद आएर भक्कानिय । श्रीमती,छोराछोरीलाईको भविष्य अब के होला ? उनी जेलभित्रबाट सप्तरीको आफ्नो गाउँ सम्झिन्थे । घर कहिले पुग्न पाइएला ? उनको मनमा यस्तै कुरा चल्थ्यो केवल ।

आखिर उनले चाहे जस्तै भयो एक दिन ।

जेलमा बस्दा लागेका घाउ, खटिरा देखाउँदै भोलन

अवैधानिक भएका कारण मलेसिया जेल परेका भोलन अधिराजसहित पाँचजना ४ फेब्रुवरीमा नेपाल फर्किए । तर, यो त्यति सहज थिएन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रम मार्फत उनीहरु नेपाल आउन सम्भव भएको हो ।

उनीहरुको स्वदेश फिर्तीका लागि उपाध्यक्ष डा.केसीको पहलमा आइओएमले हवाई टिकट उपलब्ध गराएको थियो । एनआरएनए एनसीसी मलेसिया तथा क्वालालम्पुरस्थित नेपाली दूतावासको समन्वयमा जेलबाट छुटाउने,कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु फर्कन सफल भएका हुन ।

यत्रो सास्ती खेपेर स्वदेश फर्किएका भोलनले अब देख्ने सपना के हो ? जवाफमा उनले प्रश्न पनि गरे,‘साउदी,दुबई कतै लाग्ने हो एकचोटी त । छोराछोरी पढाउनु छ,विदेश नगएर हुन्छ र ? ।

‘छोरी ५ मा पढदै छ । छोरा बोर्डिङमा छ’,भोलन सुनाउँदै थिए,‘अहिलेको जमानामा छोरीलाई पनि पढाउनुपर्छ । नत्र पछि अपठ्यारो हुन्छ ।’

जेलमा बस्दा लागेका घाउ, खटिरा देखाउँदै भोलन

एउटा बुवाले आफ्नो सन्तानका लागि के के गर्दैन ? यदि भोलनका छोराछोरी कवि नवराज पराजुलीका कविताबारे जानकार छन् भने उनीहरु भन्दा हुन,

तपाईले आजसम्म चुहाएको जम्मै पसिना जम्मा गरेर एकैपटक छयापिदिने हो भने त सुर्य नै चिस्याउन पुग्दो हो ।