साउदीमा १० वर्षदेखि भोगेको सास्तीबाट बल्ल मुक्ति पाइन सम्झनाले

साउदीमा १० वर्षदेखि भोगेको सास्तीबाट बल्ल मुक्ति पाइन सम्झनाले

रियाद । परदेशको एउटा घर । निरन्तर एक दशक । त्यसमाथि बन्धक जीवन । न घरपरिवारसँग कुराकानी न त प्रवासी नेपालीसँग भेटेर आफ्ना ब्यथा सुनाउने मौका नै । मध्यपूर्वको एउटा देश साउदी अरबमा एक नेपाली महिलाले यस्तै नारकिय जीवन भोग्न बाध्य हुनु पर्यो।

खासमा उनको नाम हो,सम्झना थापा मगर ।पाल्पा,छहराकी सम्झनालाई मानवतश्करहरुले विभिन्न प्रलोभन देखाए । ललिता गुरुङको नाममा नक्कली राहदानी बनाए । अनि साउदी पुर्याए ।

साउदी पुगेर एउटा घरमा काम गर्न थालेकी सम्झनाको घरमालिकले उनको घरपरिवार सँग सम्पर्क गर्न नदिनेमात्र होइन,समयमा खान समेत नदिइ बन्दीजस्तो ब्यवहार गरेर कज्याउन थाल्यो । त्यो पनि एक दिन होइन न त दुई दिन । १० बर्षसम्मको यस्तो नारकिय जीवन कसरी बाँचिन,सम्झनाले ? सम्झिदै कहाली लाग्दो।

आखिर दिन सधैं खराब पनि त हुदैन । सम्झनाको हकमा पनि यस्तै भयो । एक दिन राम्रो दिन आयो । उनलाई नेपाली प्रवासी समाज,साउदी अरेबियाले घरमालिकको चंगुलबाट फुत्काउन सफल भएको हो । करिब २ महिना पहिले समाजको आधिकारिक पेजमा सम्पर्कमा आएकी थिइन।

समाजको सक्रियतामा फेब्रुवरी ३ मा सम्झना काम गर्ने अल सग्राबाट उद्घार गरि नेपाली दूतावासको रियादस्थित सेल्टरमा ल्याइपुर्याइएको छ । यहाँको नियम,कानुन र प्रशासनिक प्रकृया पूरा गरी सम्झनालाई नेपाल फर्काउने योजना रहेको समाजले बताएको छ ।