मलेसियाको मायाजालमा फसेर १९ वर्षपछि नेपाल फर्किए अधिराज

काठमाडौं । उमेर ४६ वर्ष । नाम अधिराज राई । घर खोटाङ ।
पूर्वेली ठिटो अधिराजलाई सायद लाहुरे हुने रहर थियो । खै के मेसो मिलेन । यसो हुन सकेन । नेपाली नियति । पैसा कमाउन मलेसिया पुगे अधिराज ।
पृथ्वीले सूर्यको चक्कर लगाएजस्तै वषौंदेखि नेपाली युवाले मलेसियाको चक्कर लगाएकै छन् । त्यसमध्येकै एक हुन्,अधिराज ।
सन् २००२ मा मलेसिया छिरेका अधिराज एकैपटक ४ फेब्रुवरी २०२१ मा स्वदेश फर्किए । २७ वर्षको लक्का जवान हुँदा परदेशिएका अधिराज घर फर्किदा ४६ वर्षको भइसकेका थिए । अर्थात,१९ वर्ष निरन्तर मलेसिया बसे । यसबीच उनी कहिल्यै पनि मलेसियाभन्दा बाहिर जान सकेनन् ।
विदेश गएको १९ वर्षपछि अचानक नेपाल आएका अधिराजले मलेसिया पुगेको दुई वर्षपछि नै नेपाल फर्कने प्रयास नगरेका होइनन् । तर, सोचे जस्तो भएन जीवन । उनको हकमा पनि यही भयो । पासपोर्टको अवधि सकिइसकेको रहेछ।
उनलाई मलेसिया पुगेको दुई वर्षमै घर फर्कौ फर्कौ भन्ने लागेको त्यसै होइन । गाउँमा हल्लिएर हिडिँरहेका अधिराज मलेसियाको कम्पनीमा कामको चर्को दबाबमा परे । जति बढी काम गर्यो उति धेरै कामको बोझ । बंगालीमात्र होइन,नेपाली सुपर भाइजरले पनि गहैं काम धेरै लगाउने । ‘यसपछि नेपाल जाने सोच बदले,सिंगापुर जाने भनेर साथीहरुको लहैलहैमा लागेँ,’ अधिराज प्रवास खबरसँग भन्दै थिए,‘घर जान हैन सिंगापुर जाने भनेर पासपोर्ट नविकरण गरेँ ।’

कम्पनीको कब्जामा रहेको पासपोर्ट अधिराजको हातमा आइसकेको थियो । कम्पनी छाडेर भागे । हैसियत अवैधानिक भयो । मलेसियाको केल शहर पुगे । त्यहाँ उनले के गरेनन् ? सुरक्षा गार्डदेखि पाएको सबै काम गरे । तर, पनि सिंगापुर जाने मेसो मिलेन।
कहिले काम गरे । कहिले अल्लारे जीवन बाँचे । बुवा पहिले नै बितिसकेका थिए । बिहे गरेका थिएनन् । २०१५ मा आमा पनि बितिन । आमा हुदाँसम्म कहिलेकाँही घर पैसा पठाएका थिए । घरप्रति कुनै दायित्व पनि उनले ठानेनन् । ‘यसपछि म आफ्नै ढङ्गले बिग्रीन थालेँ’ अधिराज स्विकार्छन,‘केही गरौं न त भनेर अलि अलि पैसा जम्मा गरयो,अनि साथीभाईको लहैलहैमा लागेर भएको पैसा पनि उडायो ।’
यसरी मलेसियाको मायाजालमा उनी हेलिए । अनि गाउँ समाजले सम्झिएन त आफ्नो अधिराजलाई ? ‘सम्झिए होलान नि,कतिले त सिंगापुर–मलेसिया आउजाउ गर्छ समेत भने रे ’ उनी भन्दै थिए,‘मैले गाउँ छाडेको १९ वर्ष भयो,अहिले पनि देखेँ भने मैले धेरैलाई चिन्छु होला ।’
तर, उनको एउटा कौतुहल थियो,‘मलाई पो यत्तिका वर्षपछि चिन्ने हुन कि नाई,म दुब्लाएँ नि त ।’
अवैधानिक भएका कारण एक वर्ष मलेसिया जेल परेका अधिराजसहित पाँचजना ४ फेब्रुवरीमा नेपाल फर्किए । तर, यो त्यति सहज थिएन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रम मार्फत उनीहरु नेपाल आउन सम्भव भएको हो ।
उनीहरुको स्वदेश फिर्तीका लागि उपाध्यक्ष डा.केसीको पहलमा आइओएमले हवाई टिकट उपलब्ध गराएको थियो । एनआरएनए एनसीसी मलेसिया तथा क्वालालम्पुरस्थित नेपाली दूतावासको समन्वयमा जेलबाट छुटाउने,कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु फर्कन सफल भएका हुन ।

त्यसमध्यका एक थिए,अधिराज ।
१९ वर्षपछि स्वदेश फर्किएका अधिराज,घर पुगिसकेका छन् ।
के अधिराजले सोचे जस्तै गाउँमा उनका दौँतरीले १९ वर्षपछि उनलाई ठम्याउन सक्लान त ?
Facebook Comment