मलेसियाको जेलमा सास्ती भोगेर स्वदेश फर्किनेको लर्को
काठमाडौं । ‘दुई पैसा कमाउँला,घरपरिवारलाई रंगीन छाता ओढाउँला’ यस्तै सोच राख्दै हरेक दिन परदेसिएका छन्,नेपाली युवा । तर, परदेशको पीडा कम छैन । पराइ भूमिमा खानुसम्म हण्डर खाएर नेपालीहरु स्वदेश नफर्किएको दिन छैन ।
मलेसियाको त झन के कुरा ! दिनहुँजसो मर्मको भारी बोकेर त्यहाँबाट देश फर्किरहेका छन् नेपाली युवा ।नेपालमा कबुल गरिएजस्तो तलब–सुविधा नपाएको,कम्पनीले भिसा नविकरण गर्न आनाकानी गरेको,कामबाट बेदखल गरिएको,अनधिकृत बसाइले जेल परेको । यस्तै यस्तै ब्यथाहरु बोकेर स्वदेश फर्किनेहरुको लर्को छ नेपालमा । यो क्रम निरन्तर जारी छ ।
जस्तो कि बिहीबार मलेसियाबाट ५ नेपाली स्वदेश फर्किए । ती पाँच नेपाली मलेसियाको जेलमा नारकिय जीवन बिताइरहेका थिए । आँखा मलिन थियो,हात रित्तो । अनुहारमा शून्य भाव । मलेसियाको जेलबाट उद्यार गरी स्वदेश ल्याइएका पाँच भाइलाई नियाल्दा यस्तै लाग्थ्यो।
खोटाङका अधिराज राई,कास्कीका खिमबहादुर राना, सुनसरीका प्रदीप राई र सप्तरीका किशोरकुमार राम,भोलन महतो । यिनै पाँच युवाहरु,जो मलेसियाको जेलबाट छुटाएर नेपाल ल्याइएका थिए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रम मार्फत उनीहरु नेपाल आउन सम्भव भएको हो । उनीहरुको स्वदेश फिर्तीका लागि उपाध्यक्ष डा.केसीको पहलमा आइओएमले हवाई टिकट उपलब्ध गराएको थियो । एनआरएनए एनसीसी मलेसिया तथा क्वालालम्पुरस्थित नेपाली दूतावासको समन्वयमा जेलबाट छुटाउने,कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु फर्कन सफल भएका हुन।
फर्किएकामध्यकै एक थिए,पोखरा,कास्कीका खिमबहादुर राना । पाँच वर्षअघि मलेसिया पुगेका रानाले नेपालबाट जाँदा तोकिएको कम्पनीमा एक बर्ष काम गरे । तर तलब निकै थोरै भएपछि त्यहाँबाट भागे । ११ महिनाअघि जेल परे । बजारमा सामान किन्ने क्रममा उनलाई मलेसियन प्रहरीले पक्राउ गर्यो । ‘मलेसियाको जेल बसाइ गाह्रो,’ खिमबहादुर नेपाल खबरसँग भन्दै थिए,‘धेरै दुख्ख काटेर आइयो,अघाउन्जेल खान नि पाइएन ।’
घरमा श्रीमती छोराछोरी छन् खिमबहादुरका । प्रहरीले जेल हाल्न लानासाथ श्रीमतीलाई फोन गरेर उनले भनेका थिए,‘मलाई पुलिसले थुन्न लग्यो ।अब म जहिले छुटछु,त्यही दिन फोन गर्छु ।’ नेपाल आएपछि बल्ल उनले परिवारलाई फोन गरे।
उनी जुन लुगामा समातिएका थिए,जेलबाट छुटेर नेपालसम्म आइपुग्दा पनि त्यही लुगामा थिए । एनआरएनएका स्वंयसेवकहरुले उनका लागि नयाँ लुगामात्र किनिदिएनन,मासु भातको ब्यवस्था पनि गरिदिए अनि बेखर्ची भएर आएका उनलाई बाटो खर्च दिए ।
खिमबहादुर पोखरा पुगीसके ।
तर, यो त खिमबहादुरको कुरा भयो।
हामी अभिशप्त कहाँ छौं भने परदेश अझ त्यसमाथि मलेसिया,त्यहाँबाट दुख्खका लगेज बोकेर आउने थुप्रै नेपाली स्वदेश फर्किने दिनको पर्खाइमा छन् ।