चेलीको चित्कार : प्रेमको नाटक गरेर तस्करले पुर्‍यायो रुस, सामूहिक बलात्कारपछि पारियो अलपत्र

गर्भवती अवस्थामा भेटिइन् अस्पतालमा

चेलीको चित्कार : प्रेमको नाटक गरेर तस्करले पुर्‍यायो रुस, सामूहिक बलात्कारपछि पारियो अलपत्र तस्वीर : नरेन मोक्तान/प्रवास खबर

काठमाडौं ।हामी यस्तै त हो ! अरुलाई जस्तै चितवनकी २२ वर्षीया स्नेहा लामा (नाम परिवर्तन) ले पनि स्वदेशमा कुनै अवसर देखिनन् । म्यानपावर ब्यवसायसँग आवद्व नुवाकोटका एक युवासँग उनको चिनजान पनि भयो । केटाले युरोप जाने,धन कमाउने सपना बाँड्यो । स्नेहाले पनि चाहेकी यही थिइन।

एक वर्षअघिको घटनाक्रम हो,यो ।

तर, बिहिबार काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलको परिदृश्य अलि फरक थियो । रसियाबाट नेपाल आउँदै गरेको टर्किस एअरलाइन्सले आमा–छोराको ब्यथा पनि साथमा लिएर आएको थियो । ती थिइन,स्नेहा । ५ महिनाको छोरोलाई मायाले छपक्कै बाँधेर नेपाली माटो टेक्दै गरेकी स्नेहा संचारमाध्यमका रिपोर्टरहरुसँग भने तर्किरहेकी थिइन । बोल्ने मुडमा थिइनन,उनी।

एक वर्षअघि स्नेहाको जीवनमा त्यस्तो के घटना घट्यो,जसले उनलाई आम मान्छेहरुसँग तर्किएर हिँडन बाध्य बनायो ?

स्नेहाले जोसँग साइनो गाँसेकी थिइन,उसको साथ लागेर उनी रसिया पुगिन । त्यहाँबाट युरोप जाने सपना संगालेर उनी आफ्नो कथित प्रेमीको हात समातेर लुरुलुरु जीवनमा पहिलो पटक नयाँ देश पुगेकी थिइन ।

रसिया पुग्नु अघि नै उनीहरु प्रेमी–प्रेमीकाको हैसियतमा थिए । दुबैबीच शारिरिक निकटता पनि भइसकेको थियो । उनले आफ्नो विश्वास प्रेमीलाई सुम्पिएकी थिइन । विदेश नपुग्दै उनी गर्भवति भइसकेकि थिइन । तर, उनलाई भने यसबारे केही अत्तोपत्तो थिएन।

रसिया पुगेको केही दिनपछि भने स्नेहाको जीवनमा चुक घोप्टिएझैँ अँध्यारा दिनहरु शुरु भए । आफ्नै भनेर विश्वास गरेको मान्छेले आफ्नो असली चरित्र देखाउने क्रम शुरु भयो । मानसिक, शारिरिक एव आर्थिक शोषणमा पर्न थालिन । रुसबाट युरोपको अन्य देश छिर्नका लागि घरबाट थप पैसा मगाउन भनियो ।उनले सक्दो पैसा मगाइन पनि । तर, जब थप पैसा आउन नसक्ने अवस्था देखियो,उनलाई कुनै पनि नेपालीको बसोबास नभएको रसियाको जुम्लाजस्तो दागस्तान पुर्‍याइयो ।

त्यहाँ जम्मा भएका उनका प्रेमीसहितका मानव तस्करहरुले स्नेहाको अस्मितासँग खेल्न थाले । दिनहुँजसो उनी शारिरिक शोषणमा पर्न थालिन् । सामूहिक बलात्कारको शिकार भइन उनी । केही दिनपछि उनका कथित पतिसहित मानव तस्करहरु दागस्तानमात्रै होइन रसियाबाटै फरार भए । उनलाई सडकमै अलपत्र छाडेर।

यसपछि दागस्तानमा कसैको घरमा घरेलु सहयोगीका रुपमा काम गरेर जेनतेन आफ्नो गुजारा चलाइरहेकी स्नेहाले एकदिन थाहा पाइन,आफू गर्भवति भएको । नेपाल हुदैं उनको गर्भ बसेको रहेछ । बिजनेश भिसामा रुस गएकी भए पनि त्यहाँ उनी सहाराविहिन भइन । बुझ्न सकिन्छ,पेटमा रहेको सन्तानको सहारा बन्नुपर्ने स्वयम बेसहारा आमाका लागि यो जीवनकै कठिन मोड थियो।

रसिया पुगेको ८ महिना भएको थियो । जसोतसो उनी अस्पताल भर्ना भइन । बच्चालाई जन्म दिइन । त्यहाँको स्वास्थ्य सेवा निकै खर्चालु । त्यसमाथि भर्खर जन्मिएको छोरा बाहेक आफ्नो भन्ने कोही नभएपछि स्नेहा अत्तालिइन ।

तर, रातपछि दिन भएरै छाड्छ भने जस्तै भयो,स्नेहाको जीवनमा ।  भर्ना भएको केही समयपछि २२ वर्षीया स्नेहा बेसहारा छिन् भन्ने अस्पतालबाट त्यहाँ रहेको नेपाली समुदायलाई खबर भयो।

यसपछि रसियामै बसोबास गर्ने एनआरएनए (गैर आवासीय नेपाली संघ) का उपाध्यक्ष तथा संघ अन्तर्गतकै वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसी सक्रिय भए ।

केसी सामु चुनौती थियो,स्नेहा र उनको सन्तानलाई अस्पतालबाट सकुशल उद्वार गर्ने अनि आवश्यक कागजातहरु बनाएर नेपालसम्म सकुशल पुर्‍याउने ।

डा.केसीकै पहलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रसिया निरन्तर तीन महिनासम्म खट्यो । स्नेहाको स्वास्थ्य,सुरक्षित बासस्थान तथा सुरक्षित ढङ्गले सुत्केरी गराउनेदेखी बच्चा र आमाको स्वास्थ्यको ख्याल राख्न कुनै कसर बाँकी राखेन । सबै खर्च आफै जुटाएर यसले जिम्मेवार अभिभावकको भूमिकामात्र खेलेन,स्नेहालाई आफ्नो बच्चासहित स्वदेश पनि फर्कायो ।

त्यसो त यसअघि नै स्नेहा र उनको बच्चालाई नेपाल पठाउन खोजिएको थियो । तर, बच्चाको बाबुको आधिकारिता प्रमाणित हुन सकेको थिएन । यसैले टिकट काटेर विमानस्थलसम्म पुगे पनि रसियन अध्यागमन विभागले उनलाई नेपाल जाने अनुमति दिन सकेन ।

स्नेहा र उनको बच्चालाई सकुशल नेपालसम्म पुरयाउन उनीहरुलाई साथमा लिएर संघका केन्द्रिय उपाध्यक्ष डा.केसी स्वंयम नेपालसम्म आए ।

विमानस्थलमा प्रवास खबरसँग कुरा गर्दै डा.केसीले भने,‘हामीले उनलाई बच्चासहित स्वदेश ल्याएका छौं,उनले आफ्नो बच्चाको अधिकार सुरक्षित राख्न र आफूमाथि न्यायोचित ब्यवहार होस भन्ने चाहेकी छिन् ।’

मानवतस्करलाई खाजेर कारवाही गर्ने अधिकार एनआरएनएलाई नहुने भएकोले आफूहरुले यसका लागि सरकारसँग आग्रह गर्ने डा.केसीको कथन थियो । उनको भनाइ थियो,‘यी बहिनीले प्रहरीलाई उजुरी दिन तयार भइन भने त्यसको आवश्यक प्रक्रियामा हामीले पनि सहयोग गर्छौं ।’

रसियामा स्नेहा र उनको बच्चालाई रेखदेख लगायतको काममा संघको रसिया अध्यक्ष शिवमणी भुर्तेल सक्रिय रहे । भुर्तेलमात्र होइन संघको टिम,संरक्षक टेकराज निरौलादेखि बच्चाको आधिकारिकताको कानूनी लडाईमा अमित कर्ण र रसियास्थित नेपाली दूतावास पनि एकसाथ सक्रिय रहयो ।

तब न सम्भव भयो,स्नेहा र उनको बच्चाको स्वदेश आगमन।

स्नेहा एउटा उदाहरण मात्र हुन । सीधा साधा महिलालाई विदेशमा लाने अनि आर्थिक,मानसिक र शारिरिक शोषण गर्ने जबसम्म कानूनी कार्वाही हुदैन त्यतिबेलासम्म धेरै स्नेहाहरु मानवतश्करका यस्ता चंगुलमा परिरहन्छन् ।

किनकी,स्नेहाको यो ब्यथा पहिलो होइन ।