२२ वर्षदेखि दिल्लीमा बन्धक बनाइएका एक नेपालीको यसरी भयो पारिवारिक मिलन

२२ वर्षदेखि दिल्लीमा बन्धक बनाइएका एक नेपालीको यसरी भयो पारिवारिक मिलन तस्वीरमा रातो घेरामा थानपति

काठमाडौँ । जैन धर्म अँगालेका जीवलाल खनाल प्रवचन दिन जाने क्रममा २८ जनवरीमा नयाँ दिल्लीको सडकमा हिँडदै थिए ।

अर्घाखाँचीका जीवलाल कलिलै उमेरमा भारत पुगे । धेरै भौँतारिए । अन्त्यमा उनको मन जैन धर्ममा अडियो । यसमै उनले आफूलाई समर्पित गर्दै लगे । धर्मगुरुको तहमा पुगे।

तर,यो कथा जीवलालको होइन । कथा हो,उनका माहिला दाई थानपतिको।

प्रवचन दिन हिँडने क्रममा जीवलालको जीवनमा त्यसदिन नयाँ दिल्लीको सडकमा के भयो ?

कथा–ब्यथाको श्रृंखला यहीँबाट प्रारम्भ हुन्छ । खासमा थानपति विगत २२वर्षदेखि परिवारको सूचीमा वेपत्ता थिए।

घरको आर्थिक स्थिती सुधारौँला भनेर अर्घाखाँचीको अनकण्टार भेगबाट भारत छिरेका थानपति दिल्ली पुगे । एउटा होटलमा काम गर्न थाले । मालिकले अलिकति खान दिन्थ्यो,जसले थानपति बाँच्नसम्म सक्थे । मालिकले झुत्रोझाम्रो भए पनि एकसरो लुगा दिन्थ्यो,ताकि नाङ्गिन नपरोस् । मालिकले होटलभन्दा बाहिर जान दिदैन्थ्यो । कसैसँग सम्पर्क त परको कुरा । न सार्वजनिक विदा न त आफ्नो गाउँ फर्किने मौका । विदा माग्दा मालिक भन्थे,‘घर किन जानुपर्‍यो,तिम्रो तलब तिम्रो परिवारलाई पठाइरहेको छु ।’

तर,यो यर्थाथ थिएन । पछि थाहा लाग्यो,मालिकले थानपतिको परिवारलाई यो २२ वर्षमा फुटीकौडी पैसा पनि पठाएका थिएनन्।

निकै सोझा र इमान्दार थानपतिले मालिकको कुरा पत्याइरहे,यत्तिका वर्ष । एक किसिमले थानपति बँधुवा मजदूर जस्ता भए । कुनबेला कतिखेर जीवन जोखिममा पर्ने हो ? कुनै टुङ्गो थिएन । यसरी नारकिय जीवन भोग्दै थिए,थानपति।

फेरि एकपटक दिल्लीको त्यही सडक पुगौं,जहाँबाट थानपतिको जीवनले नयाँ मोड लियो ।

ग्राहकका लागि टिफिन बक्स पुरयाउन हिँडदै थिए,थानपति । उनका भाइ जीवलालको आँखा झुत्रेझाम्रे लुगा लगाएका अनि निराश अनुहार बोकेका थानपतिमाथि पर्‍यो ।

जीवलाललाई बाल मस्तिष्कदेखि नै आफ्नो मानसपटलमा कैद भएको दाजुको तस्वीरको सम्झना भयो । एकछिन उनी अलमलिए । मनमनै सोचे । ‘यो मान्छे कतै मेरै दाई थानपति त होइन ? ’ आफैलाई प्रश्न गरी हेरे।

एकछिन घोरिए । अनि निश्चित भए,‘हो, यो मान्छे मेरो दाई थानपति खनाल नै हो ।’ कुनै मानिससँग नछोइने मान्यता भएको जैनधर्मका सच्चा अनुयायी जीवलालले आफ्ना दाजुलाई गर्लाम्म अँगालो हाल्न पुगे । उनले आफूलाई सम्हाल्न सकेनन्।

थानपतिले पनि आफ्ना भाईलाई चिने । फिल्मी शैलीमा दुबैको मिलन भयो । एक अर्कालाई हेरे । सुमसुम्याए । निकै बेर रोए।

बाटोमा पछिपछि आउँदै गरेका थानपतिका बहिनी ज्वाइँ दधिराम भुसालले पनि यतिका वर्षसम्म सम्पर्क विहीन भएका आफ्ना जेठानदाई लाई भेट्न पुगे।

एकछिनमै थानपतिका मालिक त्यहीँ थलोमा आइपुगे,जहाँ खनाल दाजुभाइको मिलन भइरहेको थियो । सुरूमा उसले ‘मेरो मान्छेलाई तिमीहरुले किन लग्न खोजेका छौ ?’ भनेर झगडा गर्न थाल्यो।

थानपतिलाई पालैसँग उनका भाइ,श्रीमतीलगायत परिवारका अन्य सदस्यहरुको नाम भन्न लगाइयो । उनले सबैको नाम सम्झिए । मालिकको केही सीप चलेन । कुलेलम ठोक्यो। उसले कतिसम्म गर्‍यो भने थानपातीको वास्तविक परिचय लुकाउनको लागि उनको नाम नै परिवर्तन गरेर सीताराम राखिदिएको थियो।

‘बुवा रोजगारको सिलसिलामा भारत जाँदा म डेढ वर्षजत्तिको मात्र थिँए रे,’ थानपतिका कान्छा छोरा हरिले हराएका भनिएका आफ्नो बुवा भेटिएको खबर पाएपछि दुबईबाट प्रवास खबरसँग भावुक हुँदै भने,‘हामीले त माया मारेका थियौँ, नसोचेको कुरा भयो । यतिका वर्षसम्म सम्पर्कमै नभएको मान्छेलाई आज आफ्नै भाइले भेटाउनु भयो ।’

थानपतिका माहिलो छोरा द्रोणप्रसाद पनि रोजगारका सिलसिलामा दुबइमा छन् भने जेठो छोरा विष्णुप्रसाद आफ्ना काकासँगै भारतमै जैन धर्म अँगालेर बसेका छन्।

यो समाचार लेख्दासम्म ६५ वर्षीय,थानपति दिल्लीमा आफ्नो भाइसँगै छन् । केही दिनमै अर्खाखाँचीस्थित सन्धिखर्कको आफ्नै घर पुरयाइदिने चाँजोपाँजो मिलाइँदैछ । थानपतिकी श्रीमती गाउँमा २२ वर्षदेखि सम्पर्कमा नआएका आफ्नो पतिको बाटो हेरिरहेकी छिन। सामाजिक संजालमार्फत उनले आफ्नो पतिसँग बात मारिसकेकि छिन । तर, प्रत्यक्ष्य देख्ने दिन गन्दै उनी अहिले औँला भाँचिरहेकी छिन्।

थानपति भारत पस्ने बेला घरमा निकै दुख्ख थियो । जीविकोपार्जनको समस्या थियो । तीन सन्तान सानै थिए । भविष्य अन्योल थियो । सानो झुपडी घर,त्यसमाथि अन्न उब्जाउने जमिन पनि निकै थोरै । धन कमाएर परिवारमा केही खुशी ल्याउन सकिन्छ कि भन्ने आशा बोकेर उनी भारत जान विवश भएका थिए । भारत पसेपछि माझीको जालमा माछा परेझैं फुत्किनै पाएनन् । भारत जाँदा जीवित रहेकी उनकी आमाको पनि निधन भएको धेरै वर्ष भइसकेको छ । उनका जेठा दाजुको पनि चोला उठिसकेको छ । यसैबीच उनको एक भतिजीको पनि मृत्यु भयो । दाजुभाईहरु पनि कोही गाउँमै छन्,कोही दाङदेउखुरी बसाई सरेर गए । कोही कपिलवस्तु झरे।

थानपतिका माहिलो छोरा द्रोण र कान्छा छोरो हरि विदेशमा जाने आउने गर्न थालिसकेका छन् । भूमिकास्थान–१, अर्जुनचौतारा आमबोटमा भएको घर र थोरै जमिन बिक्री गरी सके । छोराहरू मिलेर पैसा कमाए । सन्धिखर्क नगरपालिकामा अहिले आफ्नै घर किनिसकेका छन् । खनाल परिवार आधारभूत आवश्यकताबाट भौतारिनुपर्ने स्थिती अहिले छैन् ।

थानपतिका माहिला छोरा द्रोण र बुहारीबाट ‘हजुरबा’ भन्ने नातिनी पनि भइसकेकी छिन् । यो खनाल परिवारमा अभाव थियो त केबल एउटा अभिभावकको,तर थानपति भेटिएपछि यो अभाव पनि मेटिएर गएको छ।

भनिन्छ नि,अँध्यारोपछि उज्यालो हुन्छ । अहिले यस्तै उज्यालोमा खनाल परिवारको मुहार खुसीले चम्किरहेको छ।