एनआरएनएमा देखिन थाल्यो चुनावी रौनक,सोनाम लामाले पनि गरे अध्यक्षमा उम्मेदवारी घोषणा

एनआरएनएमा देखिन थाल्यो चुनावी रौनक,सोनाम लामाले पनि गरे अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं सम्मेलन आउन अझै दश महिना बाँकी छ । कार्यतालिका अनुसार सम्मेलन आगामी अक्टोबर महिनामा हुनेछ । तर, सम्मेलन हुने दिन टाढै भए पनि चुनावी रौनक भने शुरु भइसकेको छ।

जनवरी २४ मा संघको विशेष महाधिवेशन समापन भएसँगै आगामी कार्यकालको नेतृत्वका लागि दावेदारी दिने क्रम पनि प्रारम्भ भएको छ।

यही पंक्तिमा आउँछन,सोनाम लामा पनि । लामाले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष समेत रहेका लामाले प्रवास खबरसँग कुरा गर्दै आफूले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । लामा अमेरिका निवासी हुन् ।

‘एनआरएनएको विभिन्न निकायमा रहेर लामो समयसम्म काम गरेँ । अब म सामाजिक अभियानबाट पछाडी हट्न सक्दिन,’ हाल नेपालमा रहेका लामाले भने,‘संस्थालाई अझ दरिलो बनाएर समाजसेवा गर्न आगामी कार्यकालको नेतृत्व गर्ने इच्छा छ ।’

एनआरएनए अभियानमा लामो अनुभव रहेकोले आफ्नो उम्मेदवारीलाई सबैले स्वभाविक रुपमा लिनुपर्ने लामाको तर्क छ । आफू विशुद्ध मनले सेवा गर्न एनआरएनएमा जोडिएको उनको भनाइ छ।

‘म एनआरएनएको प्लेटफर्मको प्रयोग गरेर आफ्नो फाइदा कमाउन एनआरएनए अभियानमा जोडिएको होइन् । तनमन र आफ्नै धन खर्चेर सामाजिक अभियानमा सेवा गरिरहेको छु,’ लामा भन्छन्, ‘प्रवासमा रहेका लाखौँ नेपालीको हकहित र सेवा गर्नु मेरो प्रमुख उदेश्य हो ।’

निर्वाचनको परिणाम आफ्नो पोल्टामा परे लामासँग त्यस्तो के योजना छ ? ‘जन्मभूमि नेपालको विकास र समृद्धीमा काम गर्ने, विदेशमा नेपालीले आर्जन गरेको सीप तथा पुँजीलाई स्वदेशमा लगाउने,’ लामाले भने, ‘अनि विदेशी लगानी नेपाल भित्र्याउन विशेष पहल गर्ने ।’

संघका अग्रज अभियन्ता र साथीहरुसँग सल्लाह अनि परामर्शपछि आफू नेतृत्वका लागि उम्मेदवारी दिने निणर्यमा पुगेको लामाले बताए । ‘हतार हतार अध्यक्ष पदको घोषणा गर्ने र अन्तिम समयमा नाम फिर्ता लिनका लागिमात्र उम्मेदवारी दिएको त होइन ? भन्ने जिज्ञाशामा लामाको जवाफ थियो, ‘म बोल्दिन,बोलेपछि पछाडी हट्दिन ।’

लामाले जस्तै संघका अर्का उपाध्यक्ष डा.बद्री केसीले पनि आइतबार नेपाल टान्टी फोर आवरकी पत्रकार बाबा राजेश्वरी थापासँगको अन्तरर्वातामा संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने कुरा स्विकार गरेका छन् ।