एनआरएनएको आगामी कार्यकालको अध्यक्षको दावेदार डा. केसी

एनआरएनएको आगामी कार्यकालको अध्यक्षको दावेदार डा. केसी डा. बद्री केसी,एनआरएनए उपाध्यक्ष तथा संयोजक वैदेशिक रोजगार कल्याणकारी विभाग

अष्ट्रिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

नेपाल ट्वान्टी फोर आवरकी बाबा राजेश्वरी थापाले अन्तरर्वातामा ‘के तपाई संघको आगामी कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार हो ?’ भनि प्रश्न गर्दा डा.केसीले उक्त कुरा स्विकार गरेका हुन्।

संघको १० औं महाधिवेशन आगामी अक्टोबरमा हुने कार्यतालिका छ । उक्त महाधिवेशनले संघको आगामी दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनको तयारीका लागि संघले स्मार्ट एनआरएनए अन्तर्गत अनलाइन मतदान,प्रतिनिधी चयन,राष्ट्रिय समितिका निर्वाचन लगायतका विषयलाई व्यवस्थित गर्न जनवरी २३ र २४ मा विशेष महाधिवेशन मार्फत संघको विधान संशोधन गरेको थियो।

अन्तरवार्तामा पत्रकार थापाले सोधेकी थिइन,‘एनआरएनएको नेतृत्व तहमा पुग्न पैसा र राजनीतिक आवद्धता आवश्यक पर्छ ?’ डा.केसीले संघको नेतृत्वमा पुग्न ठुलो धनराशी खर्च गर्नुपर्ने र कुनै न कुनै राजनीतिक दलसँग जोडिएको हुनुपर्ने कुरालाई गलत भएको जवाफ दिए । ‘यसको उदाहरण आफै हुँ,म मध्यम वर्गबाट आएको हो,’ डा.केसीले भने,‘चुनाव जित्न मैले अहिलेसम्म न कुनै पैसा खर्च गरेको छु न त राजनीतिक समर्थन लिएको छु ।’

संघ एउटा विशुद्ध सामाजिक अभियान भएकोले यसमा आउँदा राजनीतिक टोपी र जुत्ता बाहिर छाडेर आउनुपर्छ भन्ने मान्यता राख्नेहरुको अग्रपंक्तिमा पर्छन,डा.केसी।

अध्यक्ष पदमा डा.केसीको उम्मेदवारी किन ? पत्रकार थापाले सोधेको अन्तिम प्रश्नमा डा.केसीले भने,‘संस्थागत शुद्धिकरण,संघमा दोस्रो पुस्ता, महिला, युवाको सहभागीता, नेपालमा लगानी, विज्ञान प्रविधी, सुरक्षित वैदेशिक रोजगार लगायतका क्षेत्रमा सकृय भएर काम गर्न ।’

संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डा.केसी विगत दुई दशकदेखि संघको अभियानमा निरन्तर सक्रिय छन् ।

डा.केसीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने स्विकार गरेको आइतबारको उक्त अन्तरर्वाताले संघको वृत्तमा तरङ्ग ल्याएको छ।