अनअराइभल भिसामा सरकार लचिलो

अनअराइभल भिसामा सरकार लचिलो फाइल तस्वीर

काठमाडौं । गैरआवासीय नेपालीका लागि खुसीको खबर । नेपाल सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ।

अनअराइभल भिसा पाउने सूचीमा कोरोनाको नयाँ रुप देखिएका देश बाहेकका गैरआवासीय नेपालीलाई राखिएको अध्यागमन विभाग जनाएको छ । बेलायतबाट नेपाल जाने नागरिकले लण्डनस्थित नेपाली दूतावासबाट भिसा लिनु पर्ने हुन्छ।

सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने यसअघिको नियम सरकारले परिवर्तन गरेको हो । १० मंसिर, १० पुस र ११ माघको मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु अध्यागमन विभागले सार्वजनिक गरेको हो।

नयाँ ब्यवस्था अनुसार,नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकले अनअराइभल भिसा पाउने छन्।

नयाँ ब्यवस्था अनुसार गैरआवासीय कुटनीतिक र औपचारिक राहदानी बाहक वा यूएनका कर्मचारीले पनि अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशीलाई समेत अब अनअराइभल भिसा दिइने छ।

विदेशबाटै नेपालको भिसा लिएर आएका विदेशी नागरिकले प्रवेश अनुमति पाएका छन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने छ । भिसा लिएर आउन सम्भव नभएका भने सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । अनिमात्र प्रवेश बिन्दुमा भिसा दिइने ब्यवस्था सरकारले गरेको छ ।