अध्यक्ष बन्न लामिछाने मैदानमा, भन्छन्– सज्जन मान्छेलाई एकजुट गरेर गलत प्रवृत्ति पन्छाउँछु

अध्यक्ष बन्न लामिछाने मैदानमा, भन्छन्– सज्जन मान्छेलाई एकजुट गरेर गलत प्रवृत्ति पन्छाउँछु

टेक्सस । कृष्णप्रसाद लामिछाने । हजुर ! अमेरिकामा रहेको नेपाली समाजका लागि परिचित नाम हो यो ।

गोरखाका लामिछाने अमेरिका आएको पनि दुई दशक भइसकेको छ । १४ वर्षदेखि निरन्तर एनआरएनएमा आवद्व  हाल टेक्ससमा बस्दै आएका लामिछानेले यहाँ रहेका नेपालीमाझ सामाजिक अभियन्ताको परिचय बनाएका छन् । कुरा उनको मात्र होइन,उनको परिवार पनि सामाजिक कार्यमा उस्तै सक्रिय रहँदै आएको स्थानीय नेपालीको भनाइ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ,अमेरिकाको कार्यकारी सदस्य भएर काम गरिसकेका लामिछानेले यसपटक एनआरएनए, अमेरिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

सदैव विवादै विवाद र कलहको भूमरीमाअल्झिएको एनआरएनए,अमेरिकाका लागि लामिछानेले दिएको उम्मेदवारीले केही अर्थ भने राख्छ । किनकी सामाजिक अभियन्ताका रुपमा उनले गरेका केही कामहरु नजर अन्दाज गर्ने खालका छैनन् ।

लायन्स क्लब अमेरिकाको पहिलो अध्यक्षदेखि नेपाली समाज टेक्ससको नेतृत्वको तहमा पुगेको मात्र नभई टेक्ससमा ठूलो मन्दिर बनाउन पनि महत्वपूर्ण भूमिका खेले।

एनआरएनएका भाषा साहित्य विभागका अन्तर्राष्ट्रिय संयोजक समेत रहेका लामिछानेले दोस्रो पुस्ताका लागि उपयोगी हुने नैतिक शिक्षा सम्बन्धि ५२ वटा अध्यायमा ८० वटा देशमा नेपाली र अंग्रेजीभाषाको पुस्तकप्रकाशनको जिम्मेवारी पाएका छन् ।

उनी एनआरएनए अमेरिकाको समिति सदस्य मात्र हुँदा कक्षा १ देखि ६ सम्मको विद्यार्थीका लागि किताव प्रकाशित गरेका थिए ।

अमेरिकामा रहेका नेपाली समुदायलाई मर्दापर्दा ‘गो फण्ड’ मार्फत सहयोग गर्दै आएका लामिछानेले जनवरी २८ मा आफ्ना केही कुरा राख्दै एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

अमेरिकामा नेपाली भाषा,साहित्य,परम्परागत रुपमा सनातनदेखि चलिआएको धर्म संस्कृर्तिको रक्षासँगै नेपालीको पहिचानको प्रतिनिधित्व गर्ने, नेपाली पोशाकको जगेर्ना गर्ने अभियानमा काम गरिरहेको दावी लामिछानेको छ । उनले आफूले चालेको सामाजिक अभियानलाई राजनीतिक रङ दिने प्रयास प्रति भने चित्त दुखाएका छन् ।

अध्यक्ष पदका प्रत्यासी लामिछाने भन्छन,‘राजनीतिक आग्रह जेसुकै भएपनि सामाजिक संस्थाको ढोका भित्र छिरीसकेपछि त्यसलाई बाहिर छाड्नुपर्छ,पूर्वाग्रहको आधारमा हैन,समानताको हैसियतमा सबैलाई हेर्नुपर्छ ।’

एनआरएनए,अमेरिका राजनीतिकदल र भात्रृ संगठनको फोहरी खेल तथा संलग्नताले दुषित भएको गूनासो छ । आपसमै आरोप प्रत्यारोप र अनेक चरम विवाद सतहमा आउने गरेको छ ।

एनआरएनए,अमेरिकाको निर्वाचन आगामी जुलाइ भित्रमा गर्नुपर्ने आइसीसीको निर्देशन छ । तर,एनआरएनए अमेरिकाको विधानअनुसार मे महिनाको अन्त्यसम्म गरिसक्नुपर्ने हुन्छ ।

यस संस्थाको सदस्यता लिने अन्तिम मिति १५ फेब्रुवरी २०२१ सम्म तोकिएको छ ।

एनआरएनए अमेरिकालाई साँचो अर्थमा एक विशुद्घ सामाजिक सँस्था बनाउदै अमेरिका बस्ने नेपालीलाई जन्मभूमीसँगको सम्बन्धमा सहजीकरण गर्नेमा एउटा सेतुको भूमिका निर्वाह गर्नका लागि आफ्नो उम्मेदवारी दिएको लामिछानेको दावी छ।

प्रवास खबरसँग उनले भने,‘एनआरएनए भनेको मर्दा र पर्दा स्थानीयलाई सहयोग गर्ने र प्रवासमा रहेका नेपालीको हकहितका लागि नेपाल सरकारसँग नीतिगत रुपमा हातेमालो गर्ने हो।’

एनआरएनए अमेरिकाको सदस्यताको सम्बन्धमा सधैं अपारदर्शी,विवादित र वहसको विषय बन्दै आएकोले त्यसलाई पूर्णरुपमा सच्चाएर एनआरएनए अमेरिकाको हरेक गतिविधिलाई पारदर्शिता ढंगबाट अघि बढाउनु आफ्नो प्रमुख उदेश्य हुने उनको दावी छ ।

लामिछाने भन्छन,‘ यदि मैले जिते भने सहमती र सहकार्य गरेर काम गर्छु,यसरी काम गर्दा त्यहाँ गुट–उपगुट हुँदैन,कसिङ्गरहरु बढारिएर भन्छन ।’

तपाईसँग चुनाव जित्ने बलियो आधार के छ ? लामिछानेलाई सोधियो । जवाफमा उनले ‘सज्जन मान्छे चुपलागे,बदमास मान्छे नेतृत्वमा पुग्छन’ भन्ने सुकरातको भनाई सापटी लिँदै भने,‘यसैले सज्जन मान्छेहरुलाई एकजुट गरेर  गलत प्रवृत्तिलाई पन्छाउदैं हामी नेतृत्वमा पुग्छौँ ।’