गैरकानूनी हैसियतमा रहेकालाई वैधानिक बन्न कुवेतले फेरि दियो अवसर

गैरकानूनी हैसियतमा रहेकालाई वैधानिक बन्न कुवेतले फेरि दियो अवसर

कुवेत । गैरकानूनी हैसियतमा बसेका विदेशीका लागि वैधानिक बन्न कुवेतले तेस्रो पटक अवसर दिएको छ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले आफ्नो मुलुकमा अवैधानिक हैसियतमा बसिरहेका आप्रवासी कामदारका लागि थप एक महिनाको अवधि बढाएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरस फैलिएको हालको असाधारण अवस्थालाई दृष्टिगत गर्दै मन्त्रालयले उक्त घोषणा गरेको हो।

यसअघि पहिलो पटक ३१ डिसेम्बर २०२० सम्मका लागि अवसर दिएको थियो । पछि १ महिना बढाएर ३१ जनवरीसम्म पुर्याइएको थियो । तेस्रो पटक १ फेब्रुअरीदेखि २ मार्चसम्मका लागि यो अवसर दिइएको हो ।

यो अवधिमा अवैध आप्रवासीले आफ्नो कानूनी वैधता कायम नगरेको पाइएमा यहाँको कानून अनुसार सजायको भागिदार बन्नु पर्नेछ । साथै,अटेर गरेमा त्यस्ता नागरिकले आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुन : फर्कन पनि नसक्ने गरी डिपोर्ट समेत गरिने कुवेत सरकारले चेतावनी दिएको छ ।

कुवेतस्थित नेपाली दूतावासले अवैध हैसियतमा यहाँ रहेका नेपालीलाई यो मौकाको सदुपयोग गर्न अनुरोध गरेको छ । कुवेतमा ७० हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । यसमा अवैधानिक हैसियतमा रहेका नेपालीको संख्या पनि ठूलो रहेको बताइन्छ ।