जापानी खाना प्रतिस्पर्धामा नेपाली युवा बसन्त बने उत्कृष्ट
टोकियो। जापान सरकारले आयोजना गरेको जापानी खाना बनाउने प्रतिस्पर्धामा नेपाली युवा उत्कृष्ट सेफ बन्न सफल भएका छन् ।
जापान सरकार कृषि, वन तथा मत्स्य मन्त्रालयले आयोजना गरेको वासोकु वल्र्ड च्यालेन्जमा विश्वका ४१ देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालका बसन्त राई उत्कृष्ट सेफमा पर्न सफल भएका हुन ।
ब्राजिल,चीन,ताइवान,कुवेत,अमेरिका,भारत,बेलायत सहित ४० देशका १९९ जना सेफहरुले प्रतिस्पर्धा गरेको जापानको अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा एकमात्र नेपाली प्रतिस्पर्धी उत्कृष्ट बनेका हुन् । मौलिक जापानी खाना बनाउने प्रतिस्पर्धामा एकपटक पनि जापान नआएका नेपाली युवा कसरी उत्कृष्ट जापानी खाना बनाउन सफल भए ?
सफलताको यो कथा भन्दैछन,राई ।
‘जापान सरकारले छैटौं पटक यो वासोकु वल्र्ड च्यालेन्ज आयोजना गरेको रहेछ । जापान सरकार तथा जापानी खानामा काम गर्ने सेफहरुले विश्वभर जापानी खाना बनाउने सेफहरु पहिचान गरेर उनीहरुलाई प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्दै आएका रहेछन् । प्रतिस्पर्धा बारेमा मैंले पनि लिंक्डइन सामाजिक संजाल मार्फत जानकारी पाएँ । दुबईमा रहेको समयमा त्यो जानकारी पाएपछि मैंले पनि जापानी खानाकै सेफको रुपमा काम गरिरहेकाले प्रतिस्पर्धा गर्ने सोच बनाएँ ।
यसका लागि अनलाइन मार्फत जापानी खाना पान सिरेड सिबास विथ मिसो बटर सस र जापानिज फ्युजन सिभिज सलाद तयार पारेर अप्लाई गरेँ । यसरी खाना बनाउँदा के कुरा कति मात्रामा मिलाएको र कसरी बनाएको विस्तृत जानकारी गराउनु पर्दथ्यो । मैले सबै कुरा मागे अनुसार तयार पारेर पठाएँ । जसमा म उत्कष्ट १५ भित्र पर्न सफल भएँ ।
अब प्रतिस्पर्धा झन कठिन हुने देखियो । मलाई न जापानी भाषा आउने न त म कहिल्यै जापान नै गएको थिएँ । तर जापानी सेफहरुले मलाई धेरै सहयोग र हौसला दिनुभयो । म उत्कृष्ट १५ बाट सिधै ६ जना छानिने जानकारी पाएँ । यो कठिन प्रतिस्पर्धा थियो ।
आफूले जानेबुझेको सबै प्रक्रिया अपनाएर अन्तिम प्रतिस्पर्धामा ग्रिल हामाचिकामा विथ दासी टोमाटो ब्रोथ तयार पारें । अन्तिम ६ का प्रतिस्पर्धीहरुलाई जापानमै बोलाएर खाना तयार पार्न लगाईने भएपनि कोरोना महामारीका कारण लाईभ भिडियो मार्फत सबै काम गर्नुपर्यो । खानामा मिसाईने एकएक मात्रा तथा प्रक्रिया सबै बताउँदै गरेँ ।
खाना चाखेर मिठो नमिठो स्वाद पाईने भएपनि जापानका उत्कृष्ट सेफहरुले अनुगमन र परीक्षण गरेको यो प्रतिस्पर्धामा उहाँहरुले सजिलै खानाको स्वाद भन्न सक्नुहुन्थ्यो । तत्काल रिजल्ट भने थाहा नहुने रहेछ । अन्य प्रतिस्पर्धीहरुले बनाएको खाना, प्रक्रिया, मिसाईएको मात्रा, पकाउने तथा सजाउने तरीका सहित, राख्ने भाँडा सजावट र सेफको प्रस्तुती समेतलाई हेरेर रिजल्ट तयार पारिने रहेछ । डिसेम्बर २१ तारिखमा रिजल्ट भएपछि खबर पाँए । म उत्कृष्ट ६ सेफ भित्र पर्न सफल भएछु ।
म उत्कृष्ट सेफ बन्न सफल भएपछि जापानी सेफहरुले बधाई सहित मलाई निरन्तर सल्लाह र सहयोग गरिरहनु भएको छ । मैंले प्रतिस्पर्धामा पाएको सर्टिफिकेट सहित जापानी चक्कु लगायत केही सामान उपहारमा पाएको छु।
उत्कृष्ट सेफ छनौटका लागि निर्णायकहरुमा ओसाकाको चर्चित काशिवायाका सेफ तथा संचालक हिदेआकी माचुओ, ताईवा गाकुईन,एडुकेशन इनकर्पोरेटका निर्देशक तथा क्योदो कुलिनरी आर्ट कलेजका अध्यक्ष मासाहिरो नाताका र किनोबु रेष्टुरेण्ट क्योतोका प्रमुख ताकुजी ताकाहासी रहनुभएको थियो।
रोचक के भने म प्रतिस्पर्धा सुरु हुँदा यूएईमा थिएँ । फाइनल हुने बेलामा माल्दिभ्स आइसकेको थिएँ । अहिले म माल्दिभ्सको पिनोल्हु रिसोर्टमा रेष्टुरेण्ट इन्चार्जको रुपमा काम गरिरहेको छु।
नेपालको मोरङ जिल्लादेखी काठमाडौं, मलेसिया, यूएई हुँदै अहिले माल्दिभ्ससम्म सामान्य कामदारको रुपमा किचेनमा काम थालेको मैले निरन्तर मेहनत र परिश्रमबाट पाएको यो सफलताले देश चिनाउ सके कि भन्ने लाग्छ।
अहिलेसम्म कुनै नेपालीले प्रतिस्पर्धा नगरेको,हाम्रोभन्दा भिन्न खाना र पहिचान बोकेको विकसित देशको खाना बनाउने प्रतिस्पर्धामा एउटा नेपाली उत्कृष्ट सेफमा छनौट हुन पाएकोमा मलाई पनि गर्व महशुस भएको छ।
नेपालमा बालबालिकालाई सानैदेखि सबैलाई डाक्टर, इन्जिनियर,पाइलट बन्नुपर्ने कुरामात्र दिमागमा घुसाइन्छ । तर, त्यस्तो होइन रहेछ । आफूले जीवनमा सफलता पाउन जुनसुकै पेशामा लागेपनि निरन्तर मेहनत गर्नुपर्छ । आफ्नो सफलतासँगै देशको नाम चिनाउन होटल,रेष्टुरेण्ट क्षेत्रमा लागेकाहरुले पनि सक्छन् भन्ने उत्कृष्ट उदाहरण पछिल्लो पटक सेफ सन्तोस साहले बेलायतबाट दिइसक्नुभएको छ।
यो खाना पकाउने काम, भान्छे भन्ने जस्तो नेपालमा पहिले हेरिने दृष्टिकोण पनि फेरिइसकेको छ । अध्ययनसँगै आफ्नो क्षमता अनुसार रोजगारी पनि सहज पाइने यो क्षेत्रमा भविष्य पनि उज्वल छ । त्यसैले नेपाली युवालाई म अनुरोध गर्न चाहन्छु यदि यो क्षेत्रमा आउने चाहना छ भने आउनुहोस,हामी सबै मिलेर अब नेपाली खानालाई विश्वभर चिनाउन कम्मर कसेर लागौँ ।’