दक्षिण कोरियाको सत्तारुढ पार्टीको उच्च निकायमा पुगे नेपाली

दक्षिण कोरियाको सत्तारुढ पार्टीको उच्च निकायमा पुगे नेपाली

सौल। दक्षिण कोरियाको सत्तारुढ डेमोक्रेटिक पार्टीको केन्द्रीय समिति अन्तर्गको मल्टिकल्चरल विभागको उपाध्यक्षमा नेपाली मुलका यज्ञराज सुवेदी निर्वाचित भएका छन् । बुधवार उनलाई पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इ नाक यन र उपसमिति सभापति सांसद गो यङ् इनले उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

यसअघि उनी राज्य समितिको अध्यक्ष पदमा निर्वाचित थिए । पार्टीका प्रतिनिधिहरुले नै मतदान गर्ने यो पदका लागि सुवेदी निर्वाचनबाट नै चुनिएका थिए । अध्यक्ष पदका लागि भएको मतदानमा कोरियन नागरिकसँग उनले प्रतिस्पर्धा गरेका थिए।

राज्य समितिहरुको अध्यक्षबाट छनोट भएपछि सुवेदी केन्द्रीय समितिको उपाध्यक्षमा नियुक्त भएका हुन्।

कोरियामा दुइ ठूला पार्टी छन्,डेमोक्रेटिक र कन्जरभेटिभ । डेमोक्रेटिक पार्टीका विभिन्न विभिन्न विभागहरु छन्। पहिले कोरियामा ‘एउटै जाती,एउटै भेष’को नीति थियो । कोरियामा आप्रवासीको संख्या बढेपछि डेमोक्रेटिक पार्टीले मल्टीकल्चरल विभाग बनाएको हो । विभागको अध्यक्ष पार्टी केन्द्रीय समितिको वैठकमा सहभागी हुन पाउने प्रावधान छ।

यो विभाग विशेष मानिन्छ । आप्रवासीहरुको नीति नियम बनाउन यसको विशेष भूमिका रहन्छ । यसले बनाएका वा सिफारिस गरेका नीति नियमहरु पार्टी मार्फत सरकारमा जान्छन् । यसमा आवद्ध सांसदहरुले आप्रवासी सम्बन्धी नीति तथा कानूनहरु संसोधन गर्न सिधै लैजान पाउँछन् ।

निर्वाचनमा विजयी भएपछि सुवेदीले प्रवास खबरसँग भने,‘कोरियामा रहेका नेपाली सहितका आप्रवासीका लागि विभेद नहुने कानून बनाउन र भएका कानून पनि कडाईकासाथ लागु गर्न दवाव दिन मेरो भुमिका रहन्छ ।’

ताप्लेजुङमा जन्मिएका सुवेदीले काठमाडौंको सरस्वती क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरेका थिए । सन् १९९६ मा उनी कामदारका रुपमा कोरिया पुगेका थिए । काम सँगसँगै उनले मानवशास्त्रमा कोरियाबाट स्नातकोत्तर गरेका थिए। पढाई सक्काएपछि उनले कोरियामा रहेका आप्रवासीका लागि सहयोग पुग्ने उदेश्यले सामाजिक संस्थाको रुपमा आप्रवासी सहयोग केन्द्र स्थापना गरे । यो संस्थामार्फत उनले विदेशी आप्रवासी र यसमा पनि बढीजसो नेपालीलाई सहयोग गरे।

सुवेदीले सन् २००९ देखि कोरियाको नागरिकता प्राप्त गरेका हुन् ।