नेपालको राजनीतिक विवादको बाछिटा ओमनमा पनि

नेपालको राजनीतिक विवादको बाछिटा ओमनमा पनि

मस्कट (ओमन) । सत्तारुढ दल नेकपाभित्र धुव्रीकरण र पानी बाराबारको असर नेपालभित्र मात्र होइन विदेशमा गठन गरिएको नेकपाको शुभेच्छुक संस्थामा पनि पर्न थालेको छ ।

यसको एउटा उदाहरण हो,खाडी राष्ट्र ओमनमा गठन गरिएको नेकपा आवद्घ प्रवासी नेपाली एकता मन्च । यसमा देखिएको पछिल्लो विवाद हेर्दा नेकपा विभाजनको असर प्रष्ट बुझ्न सकिन्छ ।

नेकपा विवादले विदेशमा रहेका नेपाली नै कसरी आपसमै विभाजिन भएका छन् भन्ने भेउ पाउन मन्चका अध्यक्ष सोमकृष्ण श्रेष्ठले २४ जनवरी (११ माघ) मा जारी गरेको विज्ञप्ती नै काफी छ ।

अध्यक्ष श्रेष्ठको दावी अनुसार मन्चको पहिलो बैठकले पुर्व अध्यक्ष उमेश विकलाई निलम्बित गरीसकेको छ ।

तर, विकको दावी बेग्लै छ । उनले निकालेको विज्ञप्ती अनुसार अध्यक्ष श्रेष्ठ सहित मन्चका सचिव र केही सदस्यहरुलाई कार्वाही गरिसकिएको छ । यसैले मन्चको आधिकारिक अध्यक्ष आफू नै रहेको विकको जिकिर छ ।
उता श्रेष्ठ भने विकको यो दावी आधारहिन रहेको बताउँछन । उनले जारी गरेको वक्तब्य अनुसार मन्चको नाम,लेटर र स्टेम्प प्याड सहितको दुरुपयोग गरेको कारण विकलाई साधारण सदस्य पदमा समेत नरहने गरि कार्वाही गरिएको हो ।

श्रेष्ठ र विकमध्ये कसले कसलाई कार्वाही गरेको हो ? यो कानुनी छानविनको विषय हो । तर नागरिकलाई जोड्नुपर्ने राजनीतिले कहिलेकाँही कसरी एक आपसलाई विभाजित गर्छ भन्ने नमुना हो,यो वक्तब्य प्रकरण ।

श्रेष्ठ तत्कालीन एमाले निकट प्रवास विभाग संगठन प्रवासी मञ्च,ओमनका अध्यक्ष हुन भने विक पूर्व माओवादी निकट जनप्रगतीशील मञ्चका अध्यक्ष हुन् ।