अन्तत : विशेष महाधिवेशनबाट पारित भयो एनआरएनएको विवादित आर्थिक प्रतिवेदन

अव संघको आर्थिक प्रणाली चुस्त हुनेछ : कोषाध्यक्ष श्रेष्ठ

अन्तत : विशेष महाधिवेशनबाट पारित भयो एनआरएनएको विवादित आर्थिक प्रतिवेदन

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनले निकै विवादित बनेको संघको आर्थिक प्रतिवेदनलाई अन्तत सहमतिका साथ अनुमोदन गरेको छ ।

कोषाध्यक्ष महेश कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष ०७४ देखि ०७६ को आर्थिक प्रतिवेदन संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतवार सर्वसम्मतले पारित भएको हो ।

यसअघि सहमति नजुट्दा संघको अघिल्लो कार्यकालको आर्थिक प्रतिवेदन पारित हुन सकेको थिएन् । प्रतिवेदनलाई थाती राखेर संघको नवौँ सम्मेलन सम्पन्न भएको थियो ।

विशेष महाधिवेशनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघभित्रको आर्थिक प्रशासनलाई अनुशासित र पारदर्शी बनाएको बताए । अध्यक्ष पन्तले भने,‘संस्थाभित्र आर्थिक परिचालनमा भएका कमीकमजोरी हटाउन काठमाडौंस्थित सचिवालयमा हुने लापरवाहीमा कडाई गर्न शुरु गरिएको छ ।’

आर्थिक प्रतिवेदन पेश गर्ने क्रममा कोषाध्यक्ष श्रेष्ठले संस्थाको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउने काम शुरु भएको दावी गरे । श्रेष्ठले प्रवास खवरसँग भने,‘यसका लागि आर्थिक तथा कर्मचारी नियमावली, लेखा परिक्षण, वार्षिक बजेट तर्जुमा लगायतका सुधार थालिएको छ ।’

आर्थिक प्रतिवेदनमाथि केशव कंडेल, जानकी गुरुङ्ग, गंगाधार गौतम, हरिहर अर्याल, मिन बहादुर जिशी, विदुर खत्री, ओम बहादुर क्षेत्री, सुरज केसी, ज्ञानेन्द्र रेग्मी, सुनिल शाह, चिरन शर्मा, दीलिप गुरुङ्ग, शिवजी श्रेष्ठ, टिबी कार्की लगायतले संस्थाको आर्थिक प्रशासन सुधारका लागि सुझाव राखेका थिए ।

महाधिवेशनमा प्रतिनिधीहरुले राखेका जिज्ञासाको जवाफ कोषाध्यक्ष श्रेष्ठले दिएका थिए । उपाध्यक्ष सोनाम लामा, सह–कोषाध्यक्ष लोकमणी ढकाल लगायतका पदाधिकारीले सम्बोधन गरेको महाधिवेशन संचालन महासचिव डा. हेमराज शर्माले गरेका थिए ।