कतार प्रहरीमा जागिर खुवाउन भारतीय विमानस्थलबाट अवैध रुपमा लगिदैछन् नेपाली युवा

कतार प्रहरीमा जागिर खुवाउन भारतीय विमानस्थलबाट अवैध रुपमा लगिदैछन् नेपाली युवा कतारको सुरक्षा निकायमा कामको लागि एक नेपाली युवाले प्राप्त गरेको भिसा

काठमाडौं।कतार प्रहरीमा जागिर दिने भनि नेपालका ३ वटा म्यानपावर कम्पनीले अवैध रुपमा चालेको प्रक्रियामा सरकारले हस्तक्षेप गरे पनि अहिले भारतीय भूमि प्रयोग गरेर नेपाली युवालाई कतार पठाउन थालिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतारबाट प्राप्त स्रोतको हवाला दिँदै प्रवास खबरसँग भने,‘भारतका विभिन्न विमानस्थल प्रयोग गरेर नेपाली युवालाई कतार प्रहरीमा रोजगारीका लागि पठाउन थालिएको प्रमाण प्राप्त भएको  छ ।’

महानिर्देशक दाहालका अनुसार,अहिलेसम्म १५० जना युवाको भिसा निस्किसकेको छ भने तीमध्ये केही युवा भारतका विभिन्न विमानस्थल प्रयोग गरेर कतार समेत पुगिसकेका छन् ।

नेपालको सरोकारवाला निकायलाई गुमराहमा राखेर नेपाली युवालाई कतार पठाउने कार्य अवैधानिक भएको बताउँदै दाहालले भने,‘मानव ओसारपसारको शैलीमा यो काम भएको छ,सम्बन्धित पक्ष (कतार सरकार)सँग समन्वय गरेर यो अवैध प्रक्रिया रोक्छौँ ।’

कतारको इन्टेरियर मिनिस्ट्रि रिसोर्सेज एडमिनिष्ट्रेसनको ह्युमन रिसोर्स डिर्पाटमेण्टमा सुरक्षा गार्डका लागि ५ सयको संख्यामा माग आएको भन्दै नेपालका तीन वटा म्यानपावरहरुले अवैध रुपमा अन्र्तवार्ता लिएको थाहा पाएपछि मंसिर ८ र ९ मा विभागले हस्तक्षेप गरेको थियो । एसओएस म्यानपावर कम्पनी,होप इन्टरनेशनल र डीडी हयुमन रिसोर्सले ३ देखि ६ लाख रुपैँया मासिक तलब हुने र ८ देखि १६ लाख रुपैँया लाग्ने भन्दै रकम असुलिइ रहेका थिए।

यसमा कतारकै अधिकारीहरुको पनि संलग्नता हुन सक्ने देखिएको थियो । ९ मंसिरमा विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मार्दा काठमाडौंस्थित कतारी दूतावासको गाडीसमेत फेला परेको थियो । उक्त म्यानपावर कम्पनीले अवैधरुपमा अन्तर्वार्ता लिइरहेको स्थानमा कतार सरकारका प्रतिनिधिहरु संलग्न थिए ।

नेपाल सरकारको आधिकारिक निमन्त्रण बिनै कतार प्रहरीमा काम गराउनका लागि नेपाली युवालाई कतार पठाउने चाँजोपाँजो मिलाउने उदेश्यले कतार सरकारको इन्टेरियर मिनिस्ट्रि रिसोर्सेज एडमिनिष्ट्रेसनका सहायक निर्देशक कर्णेल डा.मोहम्मद हमाद ओमेर अल्घयादिनको नेतृत्वमा एउटा टोली मंसिरको पहिलो साता काठमाडौं आएर होटल म्यारिटमा बसेको थियो । उनको टोलीमा अरु तीनजना कतारी अधिकारी पनि सहभागी थिए । उनीहरुले नेपाल सरकारलाई कुनै जानकारी नै नदिई अन्तर्वाता लिएका थिए । छापा मार्ने क्रममा उनीहरु अन्तर्वामा रहेको खुलेको हो ।

यसअघि विभागले ८ मंसिरमा पनि २ वटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । धापासीस्थित एसओएस र गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्स कम्पनीमा विभागले हस्तक्षेप गरेको थियो । ती २ कम्पनीमध्य डीडीमा करिब ४ सय युवाहरुले अन्तर्वार्ता दिइरहेका थिए । उता एसओएसमा भने अन्तर्वार्ता शुरु भएको थिएन,तर युवाहरु अन्तर्वार्ताका लागि तयारी अवस्थामा थिए।

ती दुबै कम्पनीबाट केही कागजात जफत गरेर विभागले दुबै कम्पनीलाई ८ मंसिरमा विभागमा सम्पर्क गर्न भनेको थियो । तर, एसओएसका सञ्चालक विभाग त पुगेनन् नै उल्टै प्रि–अन्तर्वार्ताको तयारी गर्न थाले ।
कामदार विदेश पठाउनका लागि म्यानपावर कम्पनीले श्रमिकको मागपत्र श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट प्रमाणीकरण गराउनुपर्दछ । दूतावासबाट प्रमाणित गराइसकेपछि वैदेशिक रोजगार विभागबाट पूर्व श्रमस्वीकृति लिनुपर्छ । अन्तर्वार्ता लिइने मितिको बारेमा पनि विभागलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्दछ।

तर,कतार प्रहरीमा जागिर लगाइदिनेभन्दै यी ३ वटा म्यानपावरले यी कुनै पनि प्रक्रिया पूरा नगरेको पाइएपछि छापा मारिएको विभागका महानिर्देशक कुमार दाहालको भनाइ छ ।

कतार सरकार र दूतावासले यो प्रकरणमा सरकारको कुनै संलग्नता नभएको दावी गर्दै विज्ञप्ती समेत जारी गरेको थियो।

कतार सरकारले यस्तो दावी गरे पनि पछिल्लो समय भारतको भूमिबाट नेपाली युवालाई कतार प्रहरीमा भर्ना गर्ने उदेश्यले कतार पुरयाउनुमा उसको भुमिका र सहजीकरणबिना कसरी सम्भव भयो ?
नेपाली युवालाई भारतीय भूमिमार्फत कतार पुरयाउनमा नेपालमा छापा मारिएका तीनै ३ वटा म्यानपावर कम्पनीको भुमिका हो वा यसमा अन्य कुनै पक्ष संलग्न छ ?

यो गम्भिर खोजबिनको विषय हो ।