पात किन हल्लिन्छ भने हावा लागेर : कुल आचार्य

पात किन हल्लिन्छ भने हावा लागेर : कुल आचार्य फाइल फोटो

काठमाडौं । गैरआवासीय नेपाली संघका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष कुल आचार्यले नेतृत्वले संस्थाका बारेमा बोलेको कुराहरुलाई सुझाव मानेर ग्रहण गर्न,त्यसमा छलफल गर्न र सकिन्छ भने बोलाएर बृहत रुपमा कुराकानी गर्नुपर्ने औल्याएका छन् ।

असहमतिका स्वरहरु सुन्न र त्यसलाई ग्रहण गर्न आग्रह गर्दै सल्लाहकार आचार्यले यो विशेष महाधिवेशनमा सहमति हुन सक्ने कुरामा सहमति गर्ने र सहमति नभएका बुँदाहरुलाई आगामी महाधिवेशनबाट किनारा लगाउनुपर्ने बताएका छन्।

‘पात किन हल्लिन्छ भने हावा लागेर’ शनिवार विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा सल्लाहकार आचार्यले भने, ‘संस्थालाई दिने सल्लाह,सुझावलाई संस्थाको हितकै लागि हो भनेर नेतृत्वले बुझ्नुपर्छ ।’

गैरआवासिय नेपालीका लागि नागरिकता,सम्पत्ति लगायतका मुद्दाहरुमा नेपालमा भइरहेका केही प्रयासहरु अझै नटुङ्गिएकोले त्यसमा पनि ध्यान दिनुपर्ने सल्लाहकार आचार्यको जोड थियो ।

‘भविष्यका हाम्रा सन्तती विदेशीनु नपरोस भन्नका लागि हामीले केही गर्नुछ,’ सल्लाहकार आचार्यले भने,अर्कोतिर नेपालको विकासमा साझेदार बन्ने कुरामा पनि हामी अघि बढनुपर्ने छ ।’



No ads found for this position