यो एकता र सहमतिको महाधिवेशन हो : कुुमार पन्त

यो एकता र सहमतिको महाधिवेशन हो : कुुमार पन्त महाधिवेशनलाई सम्बोधन गर्दै कुमार पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय अध्यक्ष कुमार पन्तले विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा संस्थामा केही विकृर्ति भित्रिइन खोजेकोले विशेष महाधिवेशन गर्नु परेको बताउँदै भर्चुअल महाधिवेशन सहमति र एकताको महाधिवेशन भएको दावी गरेका छन् । सबैलाई एकठाउँमा ल्याउनुका साथै सबैको भावन समेटने र सहमति हुने कुरामा सहमति गर्ने तथा जुन कुरामा सहमति हुन सक्दैन त्यसलाई हालका लागि स्थगित गर्ने गरी महाधिवेशन आयोजना गरिएको अध्यक्ष पन्तले बताएका छन् । झण्डै ८३ मुलुकमा रहेका झण्डै ८० लाख नेपालीमाझ एकताको सन्देश गएको अध्यक्ष पन्तको भनाइ थियो ।

भर्चुअल महाधिवेशन गर्न खोजेको भनेर आलोचना खेप्दै आएका अध्यक्ष पन्तले अबको समयमा प्रविधिको बढीभन्दा बढी प्रयोग गरेर भर्चुअल कार्यक्रम आयोजन गर्न संघको विधान पनि संशोधन गरिने बताए । ‘हामीले पहिलो पटक परीक्षणका रुपमा गरिरहेको यो भर्चुअल महाविधेशनले आगामी दिनमा यसरी पनि कार्यक्रम आयोजना गर्न सकिन्छ भन्ने सन्देश गएको छ,’अध्यक्ष पन्तले भने, ‘म बसेको मुलक जर्मनीदेखि विश्वका अनेक देशहरुमा भर्चुअल माध्यमबाट ठूला–ठूला कार्यक्रमहरु भइरहेका छन् भने हामीले गर्न नहुने कुरा छैन । हो, हामीले सबैलाई विश्वासमा लिएरमात्र यस्तो कार्यक्रम गर्नुपर्छ ।’

एनआरएनएको संयोजनमा विश्वभरी छरिएर रहेका नेपालीबाट सानो ठुलो रकम गरी १० अर्ब रुपैँया नेपाल भित्रयाउने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अध्यक्ष पन्तले भने,‘अब नेपालमा कम्पनी दर्ता गरेर आइपिओ पनि जारी गरिने छ ।’