एनआरएनलाई परराष्ट्रमन्त्रीले भने,‘नेपालमा हामी विभाजित भएजस्तै तपाईहरु विभाजित नहुनुहोस’

एनआरएनलाई परराष्ट्रमन्त्रीले भने,‘नेपालमा हामी विभाजित भएजस्तै तपाईहरु विभाजित नहुनुहोस’ फाइल फोटो

काठमाडौं । ‘पशुपतिनाथको मन्दिरमा जाने दर्शनार्थीहरुले छालाका जुत्ता,चप्पल,पेटी बाहिर राखेजस्तै संसारभर छरिएका नेपालीले पनि आपसी विवाद,मनोमालिन्य,आपसी असहमतिलाई पनि बाहिर नै छोडेर अघि बढ्नुपर्छ,’ यो भनाइ हो परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ।

‘नेपाली समाजमा देखिने आपसी विवाद र असहमति जस्ता बिषयहरु विदेशमा रहेका नेपालीमा पनि देखिने गरेको छ’, गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन उद्घाटनको क्रममा मन्त्री ज्ञवालीले भने, ‘तर, तपाईहरुले विशेष महाधिवेशनको मुद्दामा आपसी सहमति गरेर जानु सकारात्मक कुरा हो ।’

संसार ग्लोबलाइजेशनमा गइरहेको र संसारभर रहेका नेपालीमा पनि यसको प्रभाव परेको बताउँदै मन्त्री ज्ञवालीले सँसगैं पहिचान जोगाउने कुरा पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताए । मन्त्री ज्ञवालीका अनुसार नेपाल अझै पनि अल्पविकसित राष्ट्र नै रहेको तर, यसको स्तरोन्नतीका लागि संसारभर छरिएर रहेका नेपालीको लगानीले मद्धत गर्ने बताए । ‘नेपालको विकासमा गैरआवासीय नेपालीलाई सहयात्री बनाएर हामी अघि बढ्न चाहन्छौंँ,’ मन्त्री ज्ञवालीले उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा अगाडी भने,‘ नेपालको समग्र विकासमा विदेशमा रहेका नेपालीले एक्लाएक्लै लगानी गरीरहेको भए पनि सामुहिक रुपमा लगानी गर्न सके त्यसले अझै राम्रो परिणाम दिन सक्छ ।’ विदेशमा रहेका नेपालीले नेपालमा हाइड्रोपावर,बैंक,होटल आदिमा लगानी गरिरहेको स्मरण गराउँदै मन्त्री ज्ञवालीले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण बनेको दावी गरे ।

विदेशमा रहेका नेपालीलाई नेपालको भविष्यलाई लिएर चिन्तित नहुन आग्रह गर्दै मन्त्री ज्ञवालीले भने,‘नेपालमा विभाजित भएजस्तै तपाईहरु विभाजित नहुनुहोस देश विकासका लागि सहयात्री हुन सके देशका लागि ठूलो योगदान हुनेछ । तपाईहरुको सफलता नै नेपालको सफलता हो,देशको पनि उचाइ बढ्नु हो ।’

मन्त्री ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि टिप्पणी गरे । ‘निर्वाचनमा जानु भनेको जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको हो,‘हाम्रो लोकतन्त्र संस्थागत हुने प्रक्रियामा छ,जनता निर्णायक र सर्वोपरी बन्न नसकेकोले अहिले फेरी जनताले नै आफ्नो फैसला गर्ने स्थिती आएको छ ।

विशेष महाधिवेशनको पूर्वसन्ध्यामा सहमति जुटनुलाई सकारात्मक रुपमा लिदैं मन्त्री ज्ञवालीले नेपाली राजनीतिको छायाँ एनआरएनएमा पर्न नदिन आग्रह गर्दै भने,‘विचारमा अनेकता होला तर त्यसलाई बाहिर राखेर जानुपर्छ । संघमा विशेष महाधिवेशनलाई लिएर चलेको विवादलाई तपाईहरुले आपसी सहमतिकासाथ मिलाएर लानु सकारात्मक कुरा हो ।’

विधान संशोधनमा विशेष ध्यान दिन आग्रह गर्दैै थोरैभन्दा थोरै संशोधन गर्न र गम्भिर विषयलाई अहिलेलाई थातीँ राख्न पनि मन्त्री ज्ञवालीले आग्रह गरे ।

संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशन दुई दिनसम्म चल्नेछ ।  विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक अधिवेशन भर्चुअल (जुम) मार्फत् आयोजना गरिएको संघले जनाएको छ ।

सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधि सहभागी भएका छन् ।