के टोकियो ओलम्पिक रद्दनै भएको हो ?

के टोकियो ओलम्पिक रद्दनै भएको हो ?

टोकियो। अमेरिकाको चर्चित समाचारपत्र टाइम्स विभिन्न देशको सत्ताका लागि बेलाबखत टाउको दुखाई हुने गरेको छ । यस पटक जापानका लागि पनि यस्तै भइरहेको छ । जापान सरकार र टाइम्सबीच जापानको राजधानी टोकियोमा हुने भनिएको ओलम्पिकलाई लिएर फरक फरक मत आएको छ ।

शुक्रवारको आफ्नो अंकमा टाइम्सले सत्ताधारी एलडिपी दल आवद्ध विशेष स्रोत उल्लेख गर्दै जापान सरकार आफ्नो तर्फबाट ओलम्पिक रद्द गर्नुपर्ने निष्कर्षमा पुगेको समाचार प्रकाशित गरेको छ । लगत्तै जापान सरकारले उक्त समाचारमा कुनै सत्यता नभएको दावी गर्दै प्रकाशित समाचारको खण्डन गरेको छ । जापानले यस वर्ष टोकियो ओलम्पिक आयोजना गर्ने आफ्नो प्रतिबद्घता कायम रहेको जनाएको छ ।

जापानमा ओलम्पिक सुरुवात हुन ६ महिनामात्र बाँकी छ । जुलाई २३ देखि ओलम्पिक सुरु गर्ने कार्यतालिका छ ।

टाइम्सले शुक्रवार प्रकाशित गरेको रिपोर्टमा जापान सरकारले आन्तरिक रुपमा टोकियो ओलम्पिक आयोजना गर्न पहिले नै ढिलाइ भएकोमा यस वर्ष कोरोना भाइरस महामारीका कारण सरकारले यो कार्यक्रम रद्घ गर्ने निष्कर्ष निकालेको दावी गरिएको छ।

टाइम्सका अनुसार यस वर्षको ओलम्पिक रद्द हुने भएपछि जापान सरकारको ध्यान अब सन् २०३२ को ओलम्पिक खेलहरु टोकियोमा आयोजना गर्न सुरक्षित गर्नेमा केन्दित हुनेछ ।

तर,जापान सरकारका मन्त्रीपरिषद सचिव मानवु साकाईले टाइम्सको रिपोर्टमा सत्यता नभएको दावी गरेका छन् । उनले भनेका छन्,‘टाइम्समा प्रकाशित रिपोर्ट अस्विकार गर्छौ ।’

टोकियो २०२० आयोजक समितिले पनि उक्त समाचारमा कुनै सत्यता नभएको दावी गर्दै जापान सरकार र अन्तराष्ट्रिय ओलम्पिक समिति लगायत उसका साझेदारहरु निर्धारित समयमै ओलम्पिक आयोजना गर्न केन्द्रित रहेको बताएको छ।

जापानमा हालै गरिएको एक सर्वेक्षणमा करिव ८० प्रतिशत नागरिक यो गर्मीमा ओलम्पिक खेलहरु सम्पन्न भएको हेर्न चाहदैनन । सर्वेक्षणमा सहभागीले खेल आयोजना हुँदा बढ्ने भीडले भाइरस फैलिने जोखिम अझ उच्च हुन सक्ने सम्भावना ब्यक्त गरेका छन् ।