नेपालीले पाउने भए कोरोनाको खोप, विहीबार १० लाख डोज आउँदै

नेपालीले पाउने भए कोरोनाको खोप, विहीबार १० लाख डोज आउँदै

काठमाडौं । नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा विहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को संक्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा संक्रमण देखिएको थियो ।

अहिलेसम्म नेपालमा दुई लाख ६८ हजार ३१० जना सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ६२ हजार ६४२ निको, तीन हजार ६९३ सक्रिय सङ्क्रमित र एक हजार ९७५ जनाको संक्रमणबाट निधन भएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले खोप आउने बित्तिकै लगाइने बताए । ‘ भारतबाट खोप आएपछि हामीले भण्डारण गर्नेदेखि सबै जिल्लामा पु¥याउनका लागि ढुवानी व्यवस्थापनको तयारी पुरा छौ ’, उनले भने, ‘ त्यसपछि हामीले प्राथमिकरणमा परेका व्यक्तिलाई तुरुन्तै खोप लगाउन शुरु गर्नेछौँ । ’

उनका अनुसार उक्त खोप दुई मात्रा व्यक्तिलाई दिइनेछ । यसरी दुई मात्रा व्यक्तिलाई दिँदा करीब पाँच लाख जनालाई खोप दिइन सकिनेछ । ‘ भारतमा दुई मात्रा दिइएको छ । पहिलो खोप दिएको चार हप्तापछि अर्को मात्रा दिइएको छ ’, उनले भने, ‘ नेपालमा पनि दुई मात्रा दिने सोचाइ बनाएका छौँ, तर अझै निर्णय गरेका छैनौ । ’ उक्त खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ ) मा सूचीकृत भने छैन ।

सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन भएअनुसार अहिले कोभाशिल्ड खोप भारतबाट ल्याई नेपालमा प्रयोग गर्न थालिएको हो ।

खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोप लगाउनका डब्लुएचओको सूचीकृत हुनुपर्ने अनिवार्य छैन । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौँथो नेपालको औषधि व्यवस्थापन विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

कोभाशिल्डलाई भारतले मान्यता दिइ दर्ता गरेको र त्यहाँका नागरिकमा लगाएको तथा नेपालको औषधि व्यवस्थापन विभागले पनि उक्त खोपलाई दर्ता गरेकाले खोपसम्बन्धी दुई मापदण्ड पूरा गरेकाले नेपालमा ल्याई लगाउन थालिएको हो ।

खोप शाखा निर्देशक डा गौतमले भारतमा दर्ता भई त्यहाँ नागरिकमा खोप लगाएपछि नेपाली जनतालाई पनि खोप लगाउन सकिने भएकाले ल्याउन थालिएको बताउनुभयो । उहाँका अनुसार उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । कोभाशिल्ड माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिन्छ ।

सरकारको कूल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने छ । विहीबार खोप आइसकेपछि भण्डारण गरेपश्चात् खोप क्रमशः प्राथमिकीरणमा परेकालाई दिइनेछ ।

यस्तै खोप गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भवती हुने महिलालाई भने खोपले हानि गर्दछ । ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी पनि तीव रुपमा अगाडि बढाएको उनले बताए ।

कोभ्याक्समार्फत ल्याउने खोपका लागि सरकारले गत मङ्सिर १९ गते (डिसेम्बर ४ तारिक) मा कूटनीतिक पत्र पठाइसकेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।

अहिले विश्वमा फाइजर एण्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भि’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत तथा चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।