वरिष्ठ लोक गायक बानियाँको निधन

वरिष्ठ लोक गायक बानियाँको निधन

काठमाडौं । वरिष्ठ लोक गायक तथा सर्जक रत्न बानियाँको बुधबार बिहान ५८ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि मृगौलाको बिरामी रहेका गायक बानियाँको बालाजुस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको निधनपछि अहिले सांगितिक क्षेत्र शोकमा डुबेको छ ।

वि.सं.२०१९ सालमा स्याङ्जा जिल्लाको फेदिखोला गाउँमा जन्मिएका बानियाँका थुप्रै चर्चित गीतहरु छन् । ‘लडाईको लाहुरे, पानमा सुपारी, फूल फूल्यो बाह्रमासेको, आधीखोलाको’ लगायत गीतहरु निकै चर्चित छन् ।

गायक बानियाँ दोहोरी गायक तथा सर्जक सँग सँगै कार्यक्रम प्रस्तोता, व्यवसायी, रेकर्डिङ स्टुडियोका संचालक तथा प्राविधिकसमेत थिए । झरना संगीत र झरना रेकर्डिङ स्टुडियोमार्फत नेपाली गीत संगीतको उत्थानमा लागेका रत्न बानियाँ स्थापितदेखि नयाँ गायक गायिकाहरुका प्रिय पात्र थिए ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश विजीले रत्न बानियाँको निधनले लोक दोहोरी क्षेत्रको एक खम्बा ढलेको उल्लेख गरेका छन् । बानियाँका गीतहरु मौलिक प्रकृतिका थिए। वरिष्ठ लोक गायक बमबहादुर कार्की सम्झन्छन्, ‘उनी असाध्यै धेरै मेहनती र मिलनसार थिए । गीत संगीतमा रुचि भएर पनि आर्थिक अवस्था कमजोर भएका व्यत्तिहरु रत्न वानियाँलाई सम्झिन्थे ।’

एक छोरा एक छोरी र श्रीमती रहेका वानियाँको आजै पशुपति आर्यघाटमा अन्यष्टि गरिने पारिवारीक श्रोतले जानकारी दिएका छन् ।