नेपाली राजनीति,परदेशिएको नेपाली मन
शिला खोजेझैँ अवसर खोज्नुपर्ने । आर्थिक दायित्वको भार बोक्नुपर्ने । पारिवारिक तथा सामाजिक कारणले पनि परदेशमा पसिना बगाउनुपर्ने । हो,यस्तै कारणले दैनिक हजारौँको संख्यामा देश बनाउने अभिभारा उठाउन सक्ने हैसियत र चट्टानी क्षमता भएपनि युवावर्ग हातमा राहदानी बोकेर विदेशमा आफ्नो पसिना र समय खर्चिन देश छाडिरहेका छन् ।
चाहे त्यो वैधानिक बाटो होस् वा अवैधानिक बाटो,हाम्रा युवालाई परदेश नपुगी भएको छैन् । विसं २०४६ पछिको घटनाक्रम नियाल्ने हो भने देशमा राजनीतिक रुपले महत्वपूर्ण परिवर्तनहरु भएका छन् । हरेक राजनीतिक संघर्षलाई उत्कर्षमा पुरयाउने र परिवर्तनको संवाहक बन्ने शक्ति यही युवावर्ग नै हो । हरेक चुनावी मैदान होस् वा १० वर्षे माओवादी जनयुद्धको गाथा युवाकै रगत र पसिनाले लेखिएको छ।
लोकतान्त्रिक पद्घतीमा सबैको आ–आफ्नै राजनीतिक विचारलाई अङ्गिकार गर्न पाउनु र त्यसको पूर्ण सदुपयोग गर्नु सबैको अधिकारको कुरा हो । तर, हाम्रा युवाले पटक–पटक गरेको संघर्ष के का लागि ? राजनीतिक तथा सामाजिक रुपान्तरणका लागि हिजो बन्दुक बोकेर ज्यानको बाजी लगाउनेदेखि ०६२/०६३ को आन्दोलनमा लाठी बोक्ने लाखौं युवा आज परदेशमा पसिना बगाउन बाध्य छन् ।
के उनीहरुले आज यही जीवन भोग्नका लागि त्यो बलिदान गरेका थिए ? यसको सरल जवाफ हो,होइन । आफ्नो भविष्य देशको राजनीतिक स्थायीत्वबाट मात्र पूरा हुन सम्भव छ भन्ने बुझेर ती लडाईहरु लडेका हुन् ।
तर, देशको पछिल्ला घटनाक्रमको चित्र निराशाजनक छ । हाम्रो भनिएको राजनीतिक नेतृत्वलाई न त देशको चिन्ता छ न त तमाम युवावर्गको । हो नेताहरुलाई केवल आफ्नो भविष्यको चिन्ता छ । सत्ता र शक्तिको चिन्ता छ । वैदेशिक रोजगारीमा रहेका वा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका अधिकाशं युवा राजनीतिलाई फोहरी खेलको रुपमा हेर्छन र टाढै रहन्छन ।
विदेश पुगेका नेपाली युवाले बुझेका छन् कि देश कुनै वादले विकसित हुदैन देश विकास हुन्छ त केवल शुशासन अनि नातावाद,कृपावाद र भ्रष्ट्राचारमुक्त देश बनाउने दृढइच्छाशक्तिले ।
वैदेशिक रोजगारीमा गएका श्रमजीवी युवावर्गलाई न कुनै राजनीतिक दलसँग सरोकार छ न त कुनै राजनीतिक विचारसँग । उनीहरुलाई त केवल देश र देशको विकाससँग अनि काम अनुसारको उचित रोजगारसँग सरोकार छ । उचित रोजगारको अभावमा अभावमा लाखौ श्रमजीवीहरु आफ्नो परिवार र देश छाडेर विदेशी भूमिमा अपहेलीत र अपनानित हुदैँ काम गर्न बाध्य भएका छन् ।
वैदेशिक रोजगारीमा गएको युवावर्गको एउटा बृहत समुह जसलाई राजनीतिक पार्टीको कुनै पनि झण्डाले समेटन सकेको छैन । राजनीतिक पार्टीका वैदेशिक भातृसंस्थाको सदस्यता लिनेको संख्या वैदेशिक रोजगारीमा गएका श्रमिकको संख्याभन्दा ज्यादै न्यून हुनुले नै यो कुराको पुष्टि गर्दछ । नेपाली राजनीतिलाई लिएर वैदेशिक रोजगारीमा रहेका सम्पुर्ण युवावर्गको जनमत लिने हो भने सबै राजनीतिक दलको धज्जी उड्ने नीश्चित छ।
वैदेशिक रोजगारीमा गएका र फर्किएकाहरुका समस्यालाई बेलैमा यथोचित सम्बोधन गर्न र स्वदेशमै स्थापित हुनसक्ने वातावरण तयार गर्नु सरकार तथा सरोकारवालाहरुको दायित्व हो।