मलेसियामा अलपत्र परेका पूर्णबहादुरको २२ वर्षपछि पारिवारिक मिलन

मलेसियामा अलपत्र परेका पूर्णबहादुरको २२ वर्षपछि पारिवारिक मिलन उद्धार हुनु अघि मलेसिया र उद्धारपछि त्रिभुवन विमानस्थलमा पूर्णबहादुर श्रेष्ठ।

काठमाडौं । मुस्कानको के अर्थ हुन्छ ? यो प्रश्नको जवाफ अहिले कसैले सटिक रुपमा दिन सक्छ भने ती हुन्,पूर्णबहादुर श्रेष्ठ।

११ महिना पहिले एउटा यस्तो घटना घट्यो,जसले पूर्णबहादुरको दैनिक जीवनबाट एकाएक मुस्कान गायब भयो । कार दुर्घटनामा गम्भिर घाइते भए । विगत दुई दशकभन्दा लामो समयदेखि मलेसिया बस्दै आएका पूर्णबहादुरको दैनिक जीवन त्यसपछि मुस्कानहिन हुन पुग्यो।

नेपालबाट मलेसिया पुगेको दुई बर्षसम्म त ठिकै थियो । त्यहाँ उनले एउटा कम्पनीमा वैधानिक हैसियतमा काम गर्दै थिए । के लाग्यो कुन्नी ! उनले कम्पनी छाडे । अवैधानिक हैसियतमै भए पनि उनी नियमित रोजगारमै थिए । तर, ११ महिनाअघि भएको दुर्घटनाले उनको जीवन मोडियो । भएको केही पैसा प्रारम्भिक उपचारमै खर्च भयो । यही विन्दुबाट उनको विचल्ली शुरु भयो । अरुको अनुकम्पा चाहिने भयो,थप उपचार गर्न र खानबस्नकै लागि ।

धन्न ! मलेसियामा मनकारी नेपाली पनि छन् । पूर्णबहादुरलाई उपचारदेखि खानेबस्ने सुविधा उपलब्ध गराए । आफ्नै घरमा आश्रय दिए । आफ्नो क्षमताले के गर्न सकिन्छ, पूर्णबहादुरका लागि उनीहरुले गरे । अव अवैधानिक हैसियतमा रहेका पूर्णबहादुरलाई नेपाल कसरी पठाउने ? यो प्रश्न पेचिलो थियो । उनका लागि ट्राभल डकुमेन्ट बनाउन सहज थिएन ।

किन ? यसको बेग्लै कथा छ ।

आइतबार पुर्णबहादुर स्वदेश ओर्लिए । घाइते अनि आर्थिक रुपमा टाट पल्टिएका पूर्णबहादुरको बारेमा मलेसियास्थित एनआरएनएका स्वयंसेवकहरुले जानकारी पाए । त्यसपछि पूर्णबहादुरलाई स्वदेश फर्काएर उद्घार तथा आवश्यक सहयोग गर्न आवश्यक देखियो ।

तत्काल खाने बस्ने लगायत स्वदेश फर्कन लाग्ने आवश्यक सहयोगको लागि एनआरएनएले पहल सुरु गर्‍यो । ट्राभल डकुमेन्ट बनाउने, पीसीआर परीक्षणको चाँजोपाँजो मिलाउने,जरिवाना तिरिदिने, हवाई शुल्क लगायतको व्यवस्था मिलाउनेतर्फ एनआरएनए सक्रिय भयो । नेपालमा रहेका एनआरएनएका स्वंयसेवकहरुसँग समन्वय गरेर पूर्णबहादुरलाई नेपालसम्म पुरयाउने वातावरण निर्माण गरे ।

पूर्णबहादुरको दुख्खको अर्को अध्याय पनि छ ।

मलेसियामा अवैधानिक हैसियतमा भएकोले आवश्यक कागजातको अभावमा ३ वर्षसम्म जेल बस्नु पर्‍यो । जेलबाट छुटकारा दिलाउन पनि एनआरएनएका स्वंयसेवकहरुले अथक प्रयास गरेका थिए।

जेलबाट छुटेपछि उनको एउटै चाहना थियो,बाँकी जीवन स्वदेशमै बिताउने । उपचार पनि नेपालमै गर्ने । आखिर भयो पनि त्यस्तै ।

डा.बद्री केसी (उपाध्यक्ष तथा एनआरएनको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग प्रमुख) को नेतृत्वमा रहेको प्रवासी नेपाली श्रमिकका लागि एनआरएनएको कोभिड–१९ सहयोग,राहत तथा उद्वार कार्यक्रमले पूर्णबहादुरको स्वदेश फिर्ति र २२ वर्षपछि पारिवारिक मिलन सम्भव भएको थियो।

जीवनमा गल्ती हुन्छ । बाटो बिराइन्छ । यस्तै गरे, पूर्णबहादुरले । सन् २००० मा मलेसिया पुगेका उनले त्यसपछि परिवारसँग सम्पर्क गरेनन् । न त उनी मलेसिया पुगेपछि परिवारलाई नै आर्थिक आड मिल्यो। यो विन्दुमा उनी पारिवारिक दायित्वबाट उम्किन खोजेको देखियो । परिवारले पनि उनीबाट आश गर्न छोडिसकेको थियो । एक किसिमले पारिवारिक बिग्रहको स्थिती थियो।

तर,आखिर परिवारभन्दा फराकिलो संसार कहाँ पो पाइन्छ र ! जीवनको दोस्रो प्रहरमा परिवारलाई पनि उनको आवश्यकता बोध भयो,उनलाई त यो स्थितीमा परिवारको सहारा आवश्यक हुने नै भयो । एक श्रीमती र दुई लक्का जवान छोराका पिता पुर्णबहादुरको पारिवारिक मिलन सम्भव भयो।

आइतबार पूर्णबहादुर काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थल ओर्लिदा उनलाई लिन २८ वर्षका कान्छा छोरा मिलन आइपुगेका थिए । विमानस्थलमा एनआरएनएका स्वंयसेवकले २२ वर्षपछि बुवा–छोराको मिलन गराइदिँदाको क्षण भावुक थियो । उत्तिकै हदयविदारक पनि ।

तर, पूर्णबहादुरको मुहारमा देखिएको चम्किलो मुस्कान भने मन छुने खालको थियो । नहोस पनि कसरी ! किनकी मलेसिया पुगेको दुई दशकको लामो यात्रामा पूर्णबहादुर मनैदेखि कमै मुस्कुराएका थिए । आफू मलेसिया जाँदा दुई कक्षामा पढीरहेको छोरा आफैलाई विमानस्थलमै लिन आउँदा कुन बुवाको मुहारमा मुस्कान नदेखिएला र !

छोरा मिलन अहिले काठमाडौंमै बुवालाई उपचार गराइरहेका छन् । आमा गम्भिर विरामी परेपछि लामो समय उपचार भयो । छोराहरुले आमालाई अहिले नुवाकोटस्थित घरमा लगेर राखेका छन् । कान्छा छोराको चाहना छ,उपचारपछि बुवालाई घर लाने । गाउँमै एउटा पारिवारिक रेष्टुराँ चलाउने।

एक आपसमा सम्पर्कमा नआएको एउटा परिवारको २२ वर्षपछि मिलन हुनु भनेको मुस्कानको एउटा ठुलो क्यानभास पनि त हो।