कुवेतमा अवैध मदिरा बनाएर बेच्ने नेपाली गिरोह पक्राउ

कुवेतमा अवैध मदिरा बनाएर बेच्ने नेपाली गिरोह पक्राउ

कुवेत । कुवेतमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह पक्राउ परेको छ । सुराकीले दिएको सुचनाका आधारमा प्रहरीले छापा मार्दा नेपाली गिरोह पक्राउ परेको हो ।

मदिरा उत्पादनका लागि प्रयोग हुने १४० ब्यारल कच्चा पदार्थसहित यो गिरोह कुवेतको सुबियाबाट पक्राउ परेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । छापा मार्दा मदिरा उत्पादन गर्ने कारखाना नै प्रहरीले भेटेको थियो ।

समाचारमा नेपाली गिरोह भनिए पनि उक्त गिरोहको संख्या र त्यसमा संलग्नहरुको नाम खुलाएको छैन । स्रोतका अनुसार, उक्त अवैध मदिरा कारखाना नेपाली श्रमिकहरुको एउटा समुहले चलाउदै आएका थिए । यसको खुलासा त्यतिबेला भयो जब एक अधिकारीले उक्त इलाकामा पेट्रोलिङ गरिरहेका थिए । नेपाली श्रमिकहरु बस्ने गरेको क्याबिनबाट एक किसिमको गन्ध आयो । उक्त कारखाना स्थानीय रुपमा प्रशोधित मदिरा उत्पादन गर्ने ठुलो कारखाना रहेको खुलेको छ ।

पक्राउ परेका नेपालीहरु अवैधानिक हैसियतमा रहेको समाचारमा उल्लेख छ । उनीहरु कसैसँग परिचयपत्र पनि थिएन । गिरफ्तार गरिएका कामदारहरुलाई कारवाहीका लागि अधिकारीहरु समक्ष बुझाइएको छ ।

कुवेतमा पछिल्लो समय स्थानीय प्रशासनले अवैध मदिरा उत्पादन गर्ने गिरोहविरुद्घ ठुलो कारवाही थालेको छ । छापा मार्दा ठुलो संख्यामा नेपालीहरु पक्राउ पर्न थालेका छन् । यसअघि २०२० को अन्त्यतिर अवैध मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न दर्जनबढी नेपाली पक्राउ परेका थिए ।