धन्न ! परदेशमा कोही त छ

धन्न ! परदेशमा कोही त छ

काठमाडौं । गरे के हुँदैन ? आँटे के पुग्दैन ? मन हुनुपर्छ । दुबो उम्रिए जसरी मनभित्र मानवता उम्रिनुपर्छ ।

हो,अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए)यस्तै मानवीय कार्यमा जुटेको छ । चहराइरहेको घाउमा मलहम लगाउने र गन्तब्य मुलुकमा रहेका नेपालीका लागि एनआरएनएले अभिभावकको भूमिका खेलिरहेको छ । विशेषगरी खाडी राष्ट्र र मलेसियामा सहयोगको याचना गरिरहेका नेपालीले सोच्न थालेका छन्, ‘ धन्न ! प्रवासमा हाम्रो पनि कोही त छ । ’

पहिले एनआरएनएले सार्वजनिक गरेको सूचना हेरौँ । मलेसिया र खाडी राष्ट्रमा रहेका नेपाली श्रमिक लक्षित यो सूचनाबाट धेरै कुरा छर्लङ हुन्छ।जागिर गुमेको छ ? खानबस्न समस्या छ ? अलपत्र पर्नुभएको छ ? चिकित्सकको आवश्यकता पर्‍यो कि भिसाको म्याद सकिएर जरिवाना तिर्न सकिरहनु भएको छैन ?

कुनै चिन्ता गर्नुपर्दैन । यहाँ एनआरएनएको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्वार कार्यक्रम सक्रिय छ।

एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको यो विभागले आफ्नो मानविय सहायताको यो कार्यक्रम मार्फत देश फर्किन नपाएर अलपत्र परिरहेका लगालग स्वदेश फर्काइरहेको छ । रोजगार गुमाएकालाई पुर्नरोजगारीको ब्यवस्था मिलाइरहेको छ।

रोजगारदाताले तलब नदिएकोले श्रमिक अदालतमा वा अन्य निकायमा निवेदन दिन चाहनुहुन्छ अथवा अन्य कुनै कानूनी समस्या छन् ? समाधान हाजिर छ । नेपाल आइपुगेपछि पनि घरसम्म पुग्ने कुनै ब्यवस्था छैन ? सुर्ता नगर्नुहोस,एनआरएनएका स्वंयसेवी हातहरु तपाईका लागि तम्तयार छन् । चिन्ताको केही बात छैन।

गन्तब्य मुलुक पुगेका नेपालीहरुले विभिन्न समस्या भोग्दै आएका छन । दर्दको यो कथा पुरानै हो । तर, यसपटकको तस्विर भने अलि फरक छ।

गत वर्षदेखि आइलागेको कोभिड–१९ को महामारीका कारण विश्व जगत नै प्रभावित भयो । संक्रमणका कारण मानिसहरु भकाभक मुत्युको मुखमा पुग्न थाले । स्वभाविक थियो,यसले विश्वकै आर्थिक स्वास्थ्यमा पनि खलबली मच्चायो।

अनि त,गन्तब्य मुलुकमा कार्यरत नेपाली पनि प्रभावित हुनपुगे । यसबाट विशेषगरी मध्यपूर्वका देश र मलेसियामा कार्यरत नेपाली श्रमिकको ठूलो संख्या आर्थिक समस्यामा परयो । रोजगारथलोहरु भकाभक बन्द हुन थाले । कसैले कर्मचारी कटौती गर्न थाले । कसैले आधा तलबमात्र दिन थाले । धेरैले त तलब नै दिन सकेनन् ।

रोजगार गयो । पाकेको तलब पनि नपाउने स्थिती भयो । खानेबस्ने समस्या भोग्नुपर्‍यो । पुर्नरोजगारीको सम्भावना कम भयो । स्वदेश फर्किन चाहे पनि पैसाकै अभाव भयो । जसोतसो स्वदेश फर्किए पनि घरसम्म पुग्ने पैसाको समेत अभाव रहयो।

यही विन्दुमा एनआरएनएले डा.केसीलाई यो समस्याबाट उन्मुक्ति खोज्ने जिम्मेवारी दियो।

जिम्मेवारी निकै चुनौतीपूर्ण थियो । तर, डा केसीले हिम्मत हारेनन्। सरकार र गन्तब्य मुलुकका नेपाली दूतावास तथा सरोकारवाला सरकारी निकायहरुसँग डा.केसीको नेतृत्वमा रहेको विभागले समन्वय गर्‍यो । विभागले एनआरएनएका स्वंयसेवक सक्रिय बनायो।

८/९ महिनादेखि जागिर गुमाएका नेपाली श्रमिक,जो घर फर्किन चाहन्छन,उनीहरुलाई अस्थायी सेल्टर बनाएर खाने बस्ने ब्यवस्था मिलाइयो। यदि त्यही रोजगारी दिन सकिन्छ भने रोजगारी दिने र सकिदैन भने घर फिर्ता गर्ने नीति बनाइयो।

हवाइयात्राका लागि टिकट किन्ने पैसा नभएर विचल्लीमा परेका नेपालीका लागि स्रोत जुटाइदिनेदेखि पीसीआर परीक्षणको ब्यवस्था मिलाइदिने,नजरबन्ददेखि जेलमा परेकाहरुलाई छुटाएर स्वदेश फर्काउनेसम्मको काममा सक्रिय रहयो,विभाग।

सानो रकम जरिवाना तिर्न नसकेर स्वदेश फिर्ता हुन नसकेका जरिवाना तिरिदिने,काठमाडौं पुगेर पनि घर जान पैसा नभएकाहरुलाई घरसम्म पुग्ने बाटो खर्च उपलब्ध गराइदिने काममा पनि विभागले गठन गरेको कार्यक्रमले धेरै नेपालीलाई उद्वार गर्न सघायो । राहतको स्वास फेर्ने अवस्था दियो।

विभागको यो कार्यक्रमले रोजगार मुलुकमा अलपत्र परेकाहरु ६ हजारभन्दा बढी नेपालीलाई सेल्टर र खानाका सहयोग गर्ने योजना बनाएको छ। पीसीआरका लागि ६ सयभन्दा बढीलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । हवाइ टिकटका लागि दुईसय जनाभन्दा बढीलाई सहयोग गर्ने कार्यक्रम छ । डिटेन्सनमा परेकामध्ये तत्काल १६० भन्दा बढी ब्यक्तिलाई सहयोग गर्ने योजना छ।

क्वारेन्टाइनमा बस्नुपर्ने छ । तर, साथमा पैसा छैन भने पनि उनीहरुका लागि आर्थिक स्रोत जुटाइदिन यो कार्यक्रमले मद्वत गरिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएका र स्थानीयलाई पनि सहयोग पुगोस् भनेर प्रदेश सरकार अन्तर्गत रहेका प्रदेश १,२ र कर्णालीको प्रादेशिक अस्पतालहरुमा १४ लाख रुपियाँ भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोगमा पनि यो कार्यक्रमले हातेमालो गरेको छ ।

सबै नेपाली घर फर्किएका छैनन् । कतिले रोकिएको ७/८ महिनाको तलब पाएका छन् । कतिले गुमेको रोजगार फेरी पाएका छन् । केहीले नयाँ रोजगार पाएका छन् । डिसेम्बर महिनामा मात्र झण्डै ४ हजार नेपालीले यस्तो अवसर पाएका छन्।

विदेशबाट फर्किएको ठुलो श्रमशक्ति स्थानीय तहमा छ । उनीहरुको श्रमलाई उपयोग गर्न सकियो भने मुलुकका लागि त्यो अवसर पनि हो ।नेपाली फर्किएर स्वदेश आउनुलाई समस्या होइन अवसरको रुपमा लिनुपर्छ,उनीहरुले विदेशमा सिकेको सीप राज्यले खेर फाल्नु हुँदैन।

डा. बद्री केसी,एनआरएनए उपाध्यक्ष तथा संयोजक वैदेशिक रोजगार कल्याणकारी विभाग

राहत र उद्वारको यो कार्यक्रम थियो र नै यो सम्भव भयो।

२०२० अगस्टदेखि यो कार्यक्रम शुरु भएको हो । यसले पूर्णरुपमा गति लिएको भने सेप्टेम्बरदेखि हो ।

‘यो कार्यक्रम शुरु गर्न केही चुनौती पनि थिए । लकडाउन थियो । कोभिडको महामारी पनिउस्तै,’ एनआरएनएका उपाध्यक्ष तथा विभागका संयोजक डा.केसी भन्छन, ‘परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय,रोजगार बोर्ड तथा गन्तब्य मुलुकका महामहिम राजदूतहरुज्युहरुसँग छलफल,समन्वय र सहकार्य अनि एनआरएनएको सक्रियताले हामीले मानवीय सहयोग गर्न सकिरहेका छौं ।’

उनले अगाडी थपे,‘गन्तब्य मुलुकमा रहेका नेपाली श्रमिकको हकमा हामीसँग स्रोत सीमित छ र गर्नुपर्ने काम

धेरै छ । कोभिड–१९ भाइरसको स्वरुप परिवर्तनले समस्या अझै बढ्ने देखिन्छ । यो कार्यक्रमको अवधि अझै बढाउनुपर्ने र स्रोत पनि थप्दै जानुपर्ने चुनौती छ । ’

कार्यक्रम सकिएपछि के गर्ने ? यसको दिगोपना कसरी खोज्ने ? यसको जवाफ डा. केसीसँग खोजियो । ‘सरोकारवाला सरकारी निकाय,हाम्रो दूतावास र एनआरएनएको आपसी समन्वयमा राहत तथा उद्घार कोष स्थापना गर्न सकियो भने कार्यक्रमलाई निरन्तरता दिन सकिन्छ,’ डा.केसीले उपाय फुराए ।

कोरोना महामारीपछि अहिलेसम्म डेढलाख नेपाली श्रमिकहरु गन्तब्य मुलुकबाट स्वदेश फर्किसकेका छन् ।

फर्किएका हकमा जीविकोपार्जनको काम गर्नुपर्ने ठूलो चुनौती छ । ‘स्थानीय सरकार, प्रदेश सरकारसँग समन्वय गरेर जीविकोपार्जनका लागि सरकार,एनआरएनए र दातृ निकाय मिलेर कार्यक्रम ल्याउन सकिन्छ,’ डा केसी जहाँ समस्या त्यहाँ उपाय देख्छन ।

‘विदेशबाट फर्किएको ठुलो श्रमशक्ति स्थानीय तहमा छ । उनीहरुको श्रमलाई उपयोग गर्न सकियो भने मुलुकका लागि त्यो अवसर पनि हो,’ डा. केसीले भने, ‘नेपाली फर्किएर स्वदेश आउनुलाई समस्या होइन अवसरको रुपमा लिनुपर्छ,उनीहरुले विदेशमा सिकेको सिप राज्यले खेर फाल्नु हुँदैन। ’

विभागले जारी राखेको यो कार्यक्रमको उदेश्य सबैलाई घर फर्काउने हो ? ‘होइन’ जवाफमा डा केसीले प्रवास खबरसँग भने । उनका अनुसार, दूतावाससँग समन्वय गरेर अलपत्र परेका नेपाली श्रमिकलाई केही समय सेल्टरमा राखेर कागजी तथा कानूनी प्रक्रिया मिलाइदिने जसबाट उसले रोजगार पाउन सकोस भन्ने तर्फ पनि प्रयास भइरहेको छ।

यसका लागि विभागले हरेक देशमा एक जना टिम संयोजक तथा चार जना फिल्ड अफिसर र केही लिगल अफिसरलाई सक्रिय पारेको छ । मध्यपूर्व र मलेसियासहित अहिले ७ वटा देशमा विभाग बढी सक्रिय छ ।

एनआरएनएको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्वार परियोजनाका कार्यक्रम ब्यवस्थापक राजेन्द्र कुमार राउतका अनुसार, यो कार्यक्रम शुरु भएपछि ८३५ जनालाई स्वदेश ल्याएर घरसम्म पुग्नका लागि यातायात खर्च पनि दिइएको छ ।

प्रदेश १ बाट २४४ जना,प्रदेश २ बाट २८६ जना,बागमती प्रदेशबाट २९ जना, गण्डकी प्रदेशबाट ४१ जना,लुम्बिनी प्रदेशबाट १९४ जना,कर्णाली प्रदेशबाट १३ जना र सुदुरपश्चिम प्रदेशबाट २८ जनाले यस्तो राहत पाइसकेका छन् ।

केही समयअघि यही कार्यक्रम अन्र्तगत स्वदेशसम्म ल्याउनेदेखि विमानस्थलदेखि घरसम्म पुर्‍याउनका लागि खाना र यातायात खर्चसहित कम्बोडियाबाट २२ जनाको उद्घार गरिएको थियो । डा.केसीको पहलमा उनीहरुको उद्वार सम्भव भएको थियो।

कार्यक्रम ब्यवस्थापक राउतका अनुसार यो मानवीय सहयोगबाट डिसेम्बर अन्त्यसम्म ८ हजार ६ सय ८४ जनाले राहत पाएका छन,उद्वार भएको छ।

उनका अनुसार ४ देशमा मात्र ‘अनडकुमेन्ट केस’ ३ हजारभन्दा बढी देखिएको छ । यसमा महिला ३ हजारभन्दा बढी छन् । जेल र डिटेन्सनमा ६२४ जना पुरुषहरु छन । ४७ जना महिला छन ।

‘जेल र डिटेन्सन सेन्टरमा भएका नेपालीलाई हामीले नेपाल ल्याउन सकेनौ भने भोली झन ठुलो समस्या आउनसक्छ,’ संयोजक डा. केसी भन्छन, ‘यसैले हामी यसमा गम्भिर छौं र यो समस्याबाट नेपालीलाई उद्वार गर्ने प्रयास शुरु भइसकेको छ । ’

वैदेशिक रोजगारमा गएका नेपालीमा मनोसामाजिक समस्या पनि छन । उताबाट स्वदेश फर्किएकाहरुमध्ये धेरैले यो समस्या बोकेका छन । एनआरएनएको स्वास्थ्य कमिटीलाई विभागले समन्वय गरेर उनीहरुका लागि परामर्श पनि शुरु गरेको छ ।

रोजगार गुमाएका कारण आत्महत्या गर्नेहरु पनि देखिन थालेपछि विभागले आफ्नो यो कार्यक्रम मार्फत आत्महत्याको निर्णय नगरुन भनेर यस्तो कार्यक्रम ल्याएको बुझ्न सकिन्छ।

गन्तब्य मुलुकमा काम गर्ने १३ नेपालीले आत्महत्या गरिसकेका छन,जसलाई कोरोनाले पनि छोपेको थियो।

अलपत्र परेका नेपालीलाई राहत दिन र उद्वार गर्न विदेशमा २ हजारभन्दा बढी स्वंयसेवी दिनरात खटिएका छन् । यो क्रममा कोभिड संक्रमणका कारण केही स्वंयसेवीले मुत्यु पनि बेहोर्नु पर्‍यो । रुसमा बस्ने डा. केसी यही भागदौडका कारण आफै पनि संक्रमित भए।

धन्यवाद !

डा.केसी उनी निरन्तर काममा खटिएकैले विदेशमा अलपत्र परेका नेपालीलाई अभिभावक पाए,दुखका बेला सहयोगी साथ अनि माया गर्ने हात पाए । उनकै सक्रियताका कारण खाडी राष्ट्रबाट गर्भवति सहित ३ हजार नेपाली महिलाको उद्वार सम्भव भयो ।

‘सहायता,स्वदेश फिर्ता र पुन :स्थापना’ यो मुलमन्त्रका साथ शुरु गरिएको यो कार्यक्रमबाट लाभ पाउन अझै धेरै नेपाली विदेशमा पर्खिएर बसेका छन् ।

विश्वका विभिन्न गन्तब्य मुलुकमा ८० लाख बढी नेपाली छन । उनीहरुले वार्षिक ८ खर्बभन्दा धेरै रेमिट्यान्स पठाउँछन । धन्न उनीहरु परदेशमा पसिना बगाइरहेका छन् र देशको अर्थतन्त्रका सुचकहरु बिग्रिन पाएको छैन ।

एनआरएनएको वैदेशिक रोजगार विभाग यदि यस्तो बेला सक्रिय हुँदैनथियो भने धेरै नेपाली गन्तब्य मुलुकमा विचल्लीमा पर्थे।

यसैले होला, साउदी अरवका लागि नेपाली राजदूत प्राध्यापक महेन्द्र सिंह राजपुत सधैंजसो कार्यक्रमहरुमा भन्ने गर्छन, ‘एनआरएनए जनताको हो ।’