प्रवासी प्रवाहमा शताब्दी पुरुष सत्यमोहन जोशी

प्रवासी प्रवाहमा शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अहिले १०१ वर्षको भए । तर उनको जोश र शैली भने अझै तन्नेरी छ । यस्तै तन्नेरी जोश र शैलीमा उनी यो पुसको चिसोमा पनि निरन्तर दुई घण्टासम्म धाराप्रवाह प्रस्तुत भए । एनआरएनएले साप्ताहिक रुपमा संचालन गर्दै आएको प्रवासी प्रवाह अनलाइन भर्चुअल कार्यक्रमको आइतवारको विशेष श्रृँखलामा शताब्दी पुरुष जोशी जोशिलो शैलीमा देखिए ।

अंग्रेजी नयाँ वर्ष २०२१ को पहिलो विशेष कार्यक्रमको रुपमा एनआरएनए अन्तर्गतको भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्धन समितिले संचालन गर्दै आएको प्रवासी प्रवाहमा जोशीसंग उनको जीवन भोगाई,साहित्य,संस्कृति र इतिहासका विविध विषयमा प्रत्यक्ष संवाद गरिएको थियो।

तन्नेरी वय र जोशका साथ वरिष्ठ संस्कृर्तिविद एवं जीवित सम्पदा जोशीले प्रस्तोताका हरेक जिज्ञासाको घटना विवरण,तिथिमिति सहित जवाफ दिएका थिए ।

कार्यक्रम संचालक गौतम दाहालले जोशीसँग विविध विषयमा जिज्ञासा राखेका थिए । समितिका मिडिया को–अर्डिनेटर समेत रहेका दाहालले वाङ्गमय शताब्दी पुरुष जोशीलाई जीवनमा अझै केही गर्न पाए हुन्थ्यो भन्ने चाहना छन् कि भनेर जिज्ञासा राखेका थिए । जवाफमा जोशीले आफुसँग अब कुनै पद,प्रतिष्ठा वा पदवीप्रति केही मोह बाँकी नरहेको बताएका थिए । नेपाली सन्तानले नेपाली माटो र संस्कृतिको वासना आउने साहित्यिक कृति सिर्जना गरेको र त्यस्तो कृतिले नोबेल पुरस्कार पाएको देख्ने जोशीको चाहना भने बाँकी नै रहेछ ।

तीनपटक नेपालको सम्मानित मदन पुरस्कार प्राप्त गरिसकेका जोशीले पहिलो मदन पुरस्कार पाउने साहित्यकारको समेत परिचय बनाएका छन् । उनका इतिहास,संस्कृर्ति,अन्वेषण,नाटक,कथा र पूर्वीय दर्शन लगायत विविध विषयमा ६० वटा कृति प्रकाशित छन् । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव समेत रहेका जोशीले नै आफ्नो कार्यकालमा प्रतिष्ठानका तर्फबाट गाईजात्रा महोत्सवको सुरुवात गराएका थिए ।

जोशीका हरेक वार्तालाप र कुराकानीमा जोडिने प्रसंग मध्य ‘जुरेली चरी’ पनि एक हो । ‘के खायो रेलीमाई के लायो होला,मेरो माया रेलीमाई जुरेली चरीले’ ग्रामीण दूरदराजका बस्तीमा गुन्जने यी र यस्तै लोक भाकाहरुलाई टपक्क टिपेर जोशीले कृति नै तयार गरे जसले उनलाई मदन पुरस्कार दिलायो ।

उनले नेपाली भाषा सभ्यताको अनुसन्धान गर्न यसको उद्गमथलो कर्णालीको जुम्लास्थित सिन्जा पुगेर अध्ययन गरेका थिए । त्यो बेला आफुले ज्यादै दुख्ख पाएको कुराकानीका क्रममा जोशीले भने,‘डोटी,खायो रोटी,फर्कंदाखेरि धोती न टोपी’ होला भनेर आफुहरुलाई तत्कालीन अन्चलाधीशले सिन्जा जान नदिने प्रयास गरेको उनले सम्झिए । ‘तैपनि हामी पुग्यौं र जे गर्न सक्यौं त्यसमा सन्तुष्ट छुु,’ जोशीले आफ्नो अनुसन्धानप्रति गौरब गर्दै ती पुराना दिन सम्झिए ।

तपाईंको दीर्घ जीवनको रहस्य के होला भनी सोधेको प्रश्नमा जोशीले ‘जीवन जिउने हरेक व्यक्तिको शैली फरक हुन्छ’ भन्दै आफुले ‘लोभ,मोह र चिन्ता कहिल्यै नगर्ने, बरु जीवन जिउने चिन्तन गर्ने गरेको’ बताए । ‘अंग्रेजी कवि जोन किट्स र जुरेली चरीबाट प्रभावित व्यक्ति हुँ,त्यसैले म चिन्ता गर्दिन,चिन्तन गर्छु,’ जीवन बाँच्ने आफ्नो शैलीबारे जोशी बताउँदै थिए ।

१३ औं शताब्दीमा नेपाली कलाकार अरनिको चीन गएका थिए र उनले त्यहाँ नेपाल र आफ्नो समेत पहिचानलाई उँचो बनाए । विसं २०१६ मा चीन पुगेका जोशीले त्यहाँ अरनिकोले गरेको योगदानका बारे अध्ययन गरे । त्यही प्रसङ्गका क्रममा जोशीले अरनिकोलाई पहिलो गैरआवासीय नेपाली मान्न सकिने आधार रहेको बताए । जोशी न्युजिल्यान्ड पुग्ने सम्भवत पहिलो नेपाली समेत हुन् । सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण गरेको २९ मे १९५३ हो,जुनबेला जोशी एक सरकारी कर्मचारीका रुपमा तालिममा सहभागी हुन न्युजिल्यान्ड पुगेका थिए ।

दुई घण्टा लामो कुराकानीमा बिना कुनै थकान निरन्तर हरेक प्रश्नको जवाफ दिंदै गर्दा जोशीले पटकपटक भाषा र संस्कृति नै हाम्रो पहिचानको आधार रहेको भन्दै यसको संरक्षण र सम्बर्धनमा जुटन आग्रह गरेका थिए ।

‘विश्व साहित्यलाई हामीले केही दिन सकेका छैनौं,हामीले लिएका मात्रै छौं,अब हामीले दिनुपर्छ,’ जोशीको कथन थियो,‘कलमको भरले देशको महिमा र गरीमालाई हामी उचाल्न सक्छौं,स्तरीय साहित्य सिर्जना,विभिन्न भाषामा अनुवाद र अंग्रेजी लेखनमा हामीले जोड दिनुपर्छ ।’

अंग्रेजी र नेपाली दुवै भाषामा पोख्त नेपाल भाषाका जानकार जोशीको जोड थियो,‘हाम्रो भाषालाई अन्तराष्ट्रियकरण गर्ने चासो र लगानी दुवै भएको छैन,हाम्रो पहिचान र सबै नेपालीलाई समेट्ने आधार भाषा र साहित्य नै हो,’ जोशीको जोड थियो,‘त्यसैले अब नोबेल पुरस्कार जित्ने गरी नेपाली एवं नेपाली मूलका लेखक र सर्जकहरुले त्यही स्तरको साहित्य सिर्जना गर्नुपर्छ ।’

प्रवासी प्रवाहको यो विशेष शृंखलामा एनआरएनएका अध्यक्ष कुमार पन्त र संस्थापक मध्येका एक पूर्व अध्यक्ष जीवा लामिछानेले जोशीको सम्मानमा कार्यक्रमको आरम्भमा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । भाषा,साहित्य,संस्कृति एवं सम्पदा प्रवर्धन समितिका अध्यक्ष एवं एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले आफूहरुको आग्रहलाई सहजरुपमा स्वीकार गरी कार्यक्रममा सहभागी भैदिनु भएको भन्दै शताब्दीपुरुष जोशीप्रति आभारसहित धन्यवाद व्यक्त गरेका थिए । प्रवासी प्रवाहकी संचालिका एवं समितिकी सदस्य सचिव भगवती बस्नेतले कार्यक्रमको सुरुवात गरेकी थिइन् ।