नेपाल जाँदा अन्य व्यक्तिको सुनलगायतका बहुमुल्य सामान नबोक्न दूतावासको आग्रह
दोहा । कतारस्थित नेपाली दूतावासले नेपाल यात्रागर्दा अरु व्यक्तिका सुनलगायतका बहुमुल्य वस्तुहरु नबोक्न आग्रह गरेको छ । दूतावासले प्रचलित कानून बमोजिम आफूले लानुपर्ने भएमा खरिद बिल साथमा राख्न पनि आग्रह गरेको छ ।
‘हालैका दिनहरुमा कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका अन्य बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति ध्यानाकर्षण भएको’ दूतावासले जनाएको छ ।
‘कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानून कानूनले तोकेको परिणामभित्र नेपाल लैँजादा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजान’ दूतावासले अनुरोध पनि गरेको छ।
‘दोहाबाट काठमाडौं यात्रा गर्दा खरिद बिल साथमा नरहेको वा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानूनले तोकेको परिणामभन्दा बढी यस प्रकारका बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत हुनाको साथै कानूनी कारवाहीको भागिदार समेत हुनुपर्ने हुँदा जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्नुहुन सबैमा सचेत गराइन्छ,’ दुतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
तस्करहरुले सुन काठमाडौं पुर्याउन सहयोग गरेवापत काठमाडौंदेखि घरसम्मको ट्याक्सी, बस टिकट, खाने बस्ने बन्दोबस्त र थप नगद ६ हजार रूपैयाँ दिने भनेर कामदारलाई प्रलोभन देखाउने गर्छन् ।