वैदेशिक रोजगारीमा जान कोरोनाकै खड्गो

वैदेशिक रोजगारीमा जान कोरोनाकै खड्गो

काठमाडौं । गत वर्षदेखिशुरु भएको कोभिड–१९ का कारण रोजगारका लागि खुट्टा उचालेर बसेका नेपाली श्रमिकहरु १० महिनादेखि अलपत्र स्थितीमा पुगेका छन् । बेलायतबाट फैलिइरहेको कोरोनाको नयाँ स्वरुपका कारण रोजगारदाता कम्पनीले नयाँ श्रमिक ल्याउने योजना पछि धकेल्दै गएका छन् । यसको असर वैदेशिक रोजगारका लागि झिटीगुण्टा कसेर तयारीमा बसेका नेपाली श्रमिक न स्वदेशमै रोजगारी खोज्न सकेका छन्, न त गन्तब्य मुलुक नै जान पाएका छन् ।

मलेसिया र खाडी राष्ट्रहरु कतार,साउदी अरब,यूएई लगायतका मुलुकहरुले अन्तराष्ट्रिय उडान रोकेका छन् । यी देशहरुले कोभिडको दोस्रो लहरबाट बच्नका लागि सुरक्षात्मक उपाय अबलम्बन गर्नुका साथै विदेशी नागरिकको आगमनलाई निरुत्साहित गर्ने नीति लिएपछि त्यसको प्रभाव नेपाली श्रमिकमाथी पनि पर्ने नै भयो।

बैदेशिक रोजगार ब्यवसायी संघका अनुसार,झण्डै १ लाख १५ हजार नेपाली श्रमिक वैदेशिक रोजगारमा जानका लागि तयारी हालतमा छन् । कतिपयको भिसा लागिसकेको छ । कतिले श्रमस्वीकृति लिइसकेका छन् । कतिले म्यानपावर कम्पनीमा पैसा बुझाइसकेका छन् । कोभिडका कारण खाडी राष्ट्र,मलेसिया र अन्य मुलुकबाट झण्र्ड १ लाख ८ हजार नेपाली स्वदेश फर्किसकेका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लएचओ) ले सन् २०२२ पछि मात्रै कोभिड महामारी सामान्य अवस्थामा आउने आंकलन गरेको छ । यो स्थितीमा प्रमुख गन्तब्य मुलुकहरुमा सहज अवस्था आएको खण्डमा मात्रै नेपाली श्रमिकका लागि ती मुलुकमा पुग्न सम्भव हुने छ । यसमाथि रोजगारदाता कम्पनीले कोभिडको प्रभावका कारण आर्थिक हैसियत गुमाएका छन् । यस्तो स्थितीमा विदेशबाट श्रमिक आपूर्ति तत्काल उनीहरुको प्राथमिकतामा नपर्न सक्छ ।

कोभिडपछि विदामा स्वदेश आएकाहरु रोजगारमा फर्किन तत्काल सम्भव देखिए पनि वैदेशिक रोजगारमा जाने तयारीमा रहेका नयाँ श्रमिकका लागि विदेश अझै टाढा छ ।

 



No ads found for this position