८० लाख प्रवासी नेपालीको ज्ञान र पुँजी नेपाल भित्र्याउने हाम्रो सपना : कुमार पन्त

८० लाख प्रवासी नेपालीको ज्ञान र पुँजी नेपाल भित्र्याउने हाम्रो सपना : कुमार पन्त

काठमाडौं । गैरआवासिय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले विदेशमा रहेका ८० लाख नेपालीको श्रम,सीप,प्रविधि,ज्ञान र पुँजीलाई नेपाल भित्र्याएर स्वदेशलाई समृद्घ तुल्याउने सपना साकार पार्न आफुहरु सक्रिय रहेको बताएका छन् ।

प्रवास खबर डटकम शुभारम्भ कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा शुक्रबार अध्यक्ष पन्तले उक्त कुरा ब्यक्त गरेका हुन।

जुममार्फत आयोजना गरिएको कार्यक्रममा जर्मनीबाट सम्बोधन गर्दै अध्यक्ष पन्तले नेपालमा सम्भावना नदेखेर रोजगार वा अध्ययनको सिलसिलामा विदेश पुगेर गैरआवासीय हुन बाध्य भएका संसारभर छरिएर रहेका ८० लाख नेपालीलाई एकताबद्घ गरेर स्वदेशमै रोजगार सिर्जना गर्ने अभियानमा गैरआवासिय संघ सक्रिय रहेको बताए।

‘गोजीमा कम पैसा बोकेर विदेश छिरेका कतिपय नेपालीले संघर्ष गरेर ठुलो आर्थिक हैसियत बनाएका छन,’ सम्बोधनका क्रममा उनले भने,‘विदेशमा यस्ता धेरै नेपाली छन्, जसले नेपालको आर्थिक समुन्नतीमा योगदान पुरयाउन चाहन्छन । यसका लागि हामी संयोजनकारी भुमिकामा छौं ।’

लाखौंलाख नेपाली श्रमिक दिनहुँ अङ्गभङ्गको शिकार भइरहेका छन,मु्त्यु भएका नेपाली श्रमिकको लाश परिवार समक्ष पुरयाउन पनि कठिनाई भइरहेकोमा यसमा संचारमाध्यमको सहयोग आवश्यक रहेको पन्तले बताए ।