प्रकाशकीय

प्रकाशकीय

जब मानिसले ठूलो आयाम खोज्छ, अवसरको नयाँ ढोका ढकढक्याउँछ तब उसले पखेटा फिँजाउन थाल्छ।पारिवारिक दायित्वले थिचिएर आर्थिक जोहो गर्न, भविष्यको सुनिश्चितता खोज्न र नयाँ सीप सिक्न अहिले विदेशी भूमिमा झण्डै ८० लाख नेपालीले आफ्नो पसिना बगाइरहेका छन् ।

नेपालका कुनै पनि सरकार, राजनीतिक दल र हाम्रा नेताहरुमा स्वदेशमै रोजगार सिर्जना गर्ने दृष्टि पुग्न सकेको छैन । स्वदेशमै रोजगारका अवसरहरु पर्याप्त भएको भए बाध्यताले विदेशिएका नेपालीले तातो बालुवा र चिसो हिउँमा नङ्ग्रा खियाउन बाध्य हुनुपर्दैनथ्यो ।
सरकार भनेको अभिभावक पनि हो तर, उसले आफ्नै सन्ततिको भविष्यप्रति दृष्टिगोचर गर्न नसकेपछि बाँच्न र बचाउन पनि विवश भएर धेरै नेपाली विदेशिएका छन्।

जति नेपाली परदेशिएका छन्, उनीहरुले विदेशी भूमिमा आफ्नो सीप, क्षमता, मेहनत र इमानदार छविको झण्डा गाडेका छन् । ‘दुई ढुङ्गाबीचको तरुल’ भनिएको हाम्रो जस्तो सानो राष्ट्रलाई विश्वसामु चिनाउन प्रवासी नेपालीले दिएको योगदानलाई सरकारले कम आँक्न मिल्दैन।

प्रवासी नेपालीले अथक परिश्रम गरेर स्वदेशमा पठाएको ठूलो धनराशीकै कारण देश टाट पल्टिनबाट जोगिएको तीतो यथार्थ हो तर पनि सरकार र सरोकारवाला निकायले गैरआवासीय नेपालीप्रति आफ्नो पनि दायित्व छ भन्ने बिर्सनु आफैँमा लज्जाको विषय हो।

हामी यही चाहन्छौँ, परदेशी नेपालीप्रति सरकार गम्भीर बनोस् । परदेशिएका नेपालीको पीडाप्रति सरकार संवेदनशील बनोस्, हामी यही चाहन्छौँ । र, हामी यो पनि चाहन्छौँ– विदेशिएका नेपालीप्रति सरकारले अभिभावकीय जिम्मेवारी लेओस्।

गैरआवासीय नेपालीप्रति सरकार उत्तरदायी बनेन तर राज्यको चौथौ अङ्ग भनिएको सञ्चारजगतले समेत विविध कारणले विदेशिएका नेपालीले विदेशी भूमिमा भोग्नु परेका बाधा, व्यवधान र संघर्षलाई बुझ्न नसकेको आमगुनासो छ।

केही अपवाद छाडेर राजनीतिक समाचारलाई प्रधानता दिन तछाडमछाड गरेका देखिन्छन्, हाम्रा सञ्चार माध्यमहरु । विदेशिएका नेपालीका गाथा, व्यथा मूलधारका सञ्चारमाध्यमको प्राथमिकतामा पर्न नसकेको धेरैको चित्त दुखाइ छ।

परदेशी नेपालीले भोग्नुपरेका दःुख, व्यथा र पीडामा मल्हम लगाउने जिम्मेवारीलाई हामीले आत्मसात गरेका छौँ । यसैले हामी अनलाइन पोर्टलको माध्यमबाट यहाँहरु समक्ष आएका छौँ ।

यो पोर्टल परदेशी नेपालीको साझा चौतारी हो । कसैले सुन्न नचाहेका, बुझ्न रुचि नदेखाएका अनि कसैको प्राथमिकतामा नपरेका कथा व्यथालाई यही साझा मञ्चमार्फत् अभिव्यक्त गर्नु हाम्रो कर्तव्य हुनेछ । हामीले यसलाई दायित्व सम्झेका छौँ।

कुनै लक्ष्य भेदन गर्न प्रारम्भ गर्नैैपर्छ । हामीले यसका लागि पहिलो पाइला थालिसकेका छौं । हामीले जुन यात्रा सुरु गरेका छौँ, त्यो आफैँमा चुनौतीपूर्ण पनि छ तर हामी समस्याको गहिराइमा पुगेर वास्तविक तथ्य सार्वजनिक गर्ने सामाजिक जिम्मेवारीबाट कहिल्यै विमुख हुने छैनौँ । हामीलाई थाहा छ– हामी संवेदनशील मुद्दामा प्रवेश गरेका छौँ ।

आम पाठक नै हाम्रा प्रेरणास्रोत हुन् । मार्गदर्शक हुन् । हामीलाई सदासर्वदा यहाँहरुको धाप चाहिन्छ । साथ चाहिन्छ । यहाँहरुबाट प्राप्त हुने आलोचनात्मक सुझावले हामीलाई सद्मार्गमा लागिरहन सहयोग गर्नेछ ।