अब विदेशबाटै अनलाईनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने

अब विदेशबाटै अनलाईनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अनलाईनमार्फत संसारको जुनसुकै कुनामा बसेर लिन सकिने व्यवस्था सुरु भएको छ । वैदेशिक रोजगार विभागले मंगलदेखि सो व्यवस्था लागू गरेको हो।

अब रोजगारीका क्रममा विदेशमा रहेकाले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन् । त्यस्तै रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाईनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन्।

यो व्यवस्था लागू भएसँगै पुनः श्रम स्वीकृतिका स्वदेश फर्कनुपर्ने तथा वैदेशिक रोजगार कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
त्यस्तै पुनः श्रम स्वीकृतिका नाममा हुने विकृति÷विसंगतिसमेत अन्त्य हुने विभागको विश्वास छ । यस अघि पुनः श्रम स्वीकृतिको काम छिटो मिलाई दिने भन्दै श्रमिकहरुसँग दलालहरुले पैसा खाने प्रवृति मौलाएको थियो।

वैदेशिक रोजगारीलाई पारदर्शी बनाउने हिसाबले पुनः श्रम स्वीकृतिलाई अनलाई प्रणालीमार्फत दिने व्यवस्था लागू गरिएको हो।

विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई यस अघि नै श्रम स्वीकृतिको इलेक्ट्रि निस्सा (ई–स्टिकर) दिने व्यवस्थासमेत लागू गरिसकेको थियो । त्यस्तै गरी केही समय अगाडी मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकले बिमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम पनि अनलाइन प्रणालीमार्फत नै भुक्तानी गर्न सक्ने व्यवस्था गरिसकेको छ।

श्रमिकहरुले ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट घरै बसेर अनलाईनमार्फत बिमा तथा कल्याणकारी कोषको रकम जम्मा गर्न सक्छन् । अन्य भुक्तानी सेवा प्रदायक कम्पनीसँग समेत सहकार्य गरेर थप सहज बनाइने विभागले जनाएको छ ।



No ads found for this position