परदेशीको सन्देश (कविता) 

परदेशीको सन्देश (कविता) 

ए मेरो प्रिय साथि,

म पुकार गर्दैछु

सात समुन्द्र पारिबाट

की-

मैले प्रवासमा

जति रगत र पसिना बगाएता पनि

मेरो मातृभुमिले

आँशु बगाउनु नपरोस्!

 

मेरै पाखुरिले-

सप्तरङ्गी फूलहरु

फुल्छन् भने,

यो मरुभुमिमा

सुगन्ध फैलिन्छ भने,

किन मेरो मातृभुमिलाई

ओइलाउनु पर्छ ?!

 

प्रकृतिको अनुपम उपहार

बिरहरुको गाथा बोकेको

त्यो प्रिय भूमि-

सगरमाथाको पनि जननी

स्वर्ग भन्नु नै

मेरै नेपाल हो;

मानिसहरु फगत्

अर्को स्वर्ग खोज्दैछन् !!

 

भुमरिमा अल्झिएर,

बाध्यता र विवशताको

असंख्य सपनाहरु बोकि

यो परदेशी भूमिमा

बिताएका एक-एक पलहरु

ब्यर्थै जानेछन्

मेरो पसिना, मेरो रगत

पैसामा साटिदां

मूल्य पाउदैंनन्।

 

त्यसैले ,साथि!

पुर्याइदिनु यो सन्देश

मेरो भूमिलाई:

परदेशी आउँदै छ

मुटुमा माया साँचेर

यही स्वर्गिय भूमिमै

सुन, चाँदि, हिरा र मोति

फलाउने सपना बोकेर,

अधम्य साहस बोकेर। ।