कतारमा बस्ने नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

कतारमा बस्ने नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । कतारमा कोरोनाको संक्रमण फेरि बढ्न सक्ने भन्दै त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ।

पछिल्ला दिनहरुमा छिमेकी देशहरुमा कोरोनाको संक्रमण बढ्दै गएकोले त्यसको असर कतारमा पनि पर्न सक्ने भन्दै सोमबार दोहास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै संक्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो। कतारमा करिब साढे ३ लाख नेपाली विभिन्न पेशाव्यवसायमा संलग्न छन्।

स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखि अत्यावश्यक काममा बाहेक बाहिर ठूला जमघट हुने ठाउँमा हिँडडुल नगर्न पनि दूतावासले अनुरोध गरेको छ ।

कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु जस्तै तो मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तै विभिन्न अवसरमा पर्व उत्सवहरु मनाउँदा समेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भिडभाड नगरी मनाउन समेत आग्रह गरेको छ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ४३ हजार २२२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये १ लाख ४१ हजार १५ जना उपचारपछि निको भएका छन्। कोरोनाको संक्रमणबाट अहिलेसम्म २४४ जनाले ज्यान गुमाएका छन्।