एनआरएनए कतारले ५५ नेपालीलाई हवाइ टिकट उपलब्ध गरायो

एनआरएनए कतारले ५५ नेपालीलाई हवाइ टिकट उपलब्ध गरायो

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कतारले ५५ जना नेपालीलाई हवाइ टिकट उपलब्ध गराएको छ । संघले कोरोनाका कारण रोजगारी गुमाएर टिकट काट्न नसकी कतारमै अड्किएका ५५ नेपालीलाई टिकटको व्यवस्था गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्त्तदाले प्रवास खवरलाई जानकारी दिए।

अध्यक्ष मुक्त्तदाका अनुसार नेपाली दूतावासको संरक्षकत्वमा कतारमा क्रियाशिल रहेका अन्य नेपाली संघसंस्थासँग समन्वय गरेर संघले पहिलो चरणमा अत्यन्तै समस्यामा परेका ५५ जना पीडित नेपालीलाई स्वदेश फर्कन टिकटको व्यवस्था गरेको हो। उनीहरुलाई विभिन्न ६ चरणमा स्वदेश फर्काइएको हो ।

‘एनआरएनएले कतारमा रहेका विभिन्न संघसस्था र नेपाली व्यवसायीहरुको समन्वयमा वास्तविक पीडितलाई टिकट उपलब्ध गराएको हो। पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराइएको छ,’ मुक्त्तादाले भने ।

संघले त्यसका लागि एउटा मापदण्ड तयार गरेको थियो । स्वास्थ्यमा गम्भिर समस्या भएका, लामो समयदेखि कतारको अस्पातालमा उपचार गराइरहेका र कोरोनाका कारण रोजगारी गुमाइ बाध्यतावस स्वदेश फर्कनै पर्ने तथा कुनै माध्यमबाट पनि टिकटको जोहो गर्न नसक्ने अवस्थामा रहेका नेपालीहरुलाई प्राथामिकताको आधारमा हवाइ टिकट उपलब्ध गराइएको उनको भनाइ छ ।