कोलम्बियाली पत्रकारको गोली हानी हत्या

कोलम्बियाली पत्रकारको गोली हानी हत्या File Photo

कोलम्बिया । संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ ।

सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो ।

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरुसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताएका छन् । मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन् ।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए । गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताएका थिए ।

कोलम्बियाका लागि राष्ट्रसंघीय मानव अधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भत्र्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन् ।