चलचित्र हल खुलेपनि दर्शकलाई हलसम्म बोलाउन सक्दिनः प्रदीप खड्का

चलचित्र हल खुलेपनि दर्शकलाई हलसम्म बोलाउन सक्दिनः प्रदीप खड्का

काठमाडाैं । कोभिड–१९ का कारण ९ महिना बन्द रहेका फिल्म हल १० गते शुक्रबारबाट खुल्ने भएका छन् । सरकारले सबै क्षेत्र खोल्ने अनुमति दिइसक्दा पनि फिल्म हल खोल्ने वास्ता नगरेपछि गत साता नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने निर्णय गरेको हो ।

सोहि निर्णय अनुसार शुक्रबारबाट फिल्म हल व्यवसायीले हल संचालनमा ल्याउन लागेका हुन् । हल खोल्ने निर्णयप्रति विभिन्न कलाकारहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले पनि यस विषयमा आफ्नो धारणा राखेका छन् । उनले चलचित्र हल संचालनमा आएपनि आफूले दर्शकहरुलाई हलसम्म आउन अनुरोध गर्न नसक्ने बताएका छन् ।

बिहीबार नयाँ बानेश्वरमा एक मःमः पसलको उद्घाटन समारोहमा बोल्दै उनले पुरा चलचित्र प्रदर्शनमा आइरहेकाले आफूले दर्शकहरुलाई हलसम्म बोलाउन नसक्ने धारणा राखेका हुन् । साथै उनले नयाँ चलचित्र प्रदर्शनमा ल्याउने निर्मातालाई जोगाउने रणनीति अगाडि सार्नुपर्ने बताए ।

शुक्रबारबाट फिल्म हलहरु संचालनमा आएपनि नयाँ चलचित्र भने हलमा छैनन् । एक पटक हलमा चलिसकेका नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः रिलिज हुँदैछन्। यी चलचित्र गत वर्ष फागुन ९ गते एकसाथ रिलिज भएका थिए तर कोरोना महामारीका कारण चलचित्र चल्दाचल्दै रोकिएका थिए ।