चलचित्र हल खुल्ने खबरले पुलकित छु: केकी अधिकारी

चलचित्र हल खुल्ने खबरले पुलकित छु: केकी अधिकारी

कोभिड–१९ का कारण ९ महिना बन्द रहेको चलचित्र हल भोलि शुक्रबारबाट खुल्ने भएको छ। शुक्रबार फिल्म हलमा ४ वटा चलचित्र एकै पल्ट रिलिज हुने चलचित्र संघले  जानकारी दियो।

भोलि नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ रिलिज हुदैछ। यी चलचित्र गत वर्ष फागुन ९ मा रिलिज भएका थिए तर कोरोना महामारीका कारण चलचित्र चल्दाचल्दै रोकिएका थिए। त्यस्तै, अंग्रेजी चलचित्र ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ पनि रिलिज हुनेछ।

चलचित्र हल खुल्न लागेको खबरले अभिनेत्री केकी अधिकारी भावुक बनेकी छिन्।

उनले फेसबुक छन्, ‘शुक्रबारदेखि चलचित्र भवनहरु खुल्दैछन्। थोरै भावुक छु। थोरै पुलकित छु। जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु। विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डुबेर स्तब्ध भई सुँक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु।’

केकीले शुक्रबार दुई नेपाली चलचित्र  ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन हुन लागेको भन्दै सबैले सक्दो सहयोग गरिदिन अनुरोधसमेत गरेकी छन्।

केकीले चलचित्र हल बन्द हुँदा आफ्नो आयस्रोत, ज्ञान र आशिष प्राप्त गर्ने मूल थलो धेरै समयदेखि बन्द रहेको  समेत लेखेकी छिन्।

‘चलचित्र भवन मेरा लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो।  सुरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिऊँ।’

कोभिड–१९ को जोखिम कम हुँदै गएसँगै अन्य व्यवसाय संचालनमा आए पनि सरकारले चलचित्र हल सञ्चालनको लागि अनुमति दिएको छैन।

शुक्रबारदेखि व्यवसायीले एकतर्फी रूपमा हल खोल्ने तयारी गरेका छन्।