निगमको दिल्ली उडान बढ्यो

काठमाडौँ, वैशाख १९ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि हरेक दिन काठमाडौँ–दिल्ली दुईवटा उडान सुरु गरेको छ । यसअघि उक्त रुटमा हप्तामा ११ वटा उडान गर्दै आएकोमा निगमले अब १४ वटा उडान गर्ने भएको हो । भारतीय विमान कम्पनी जेट एयरलाइन्सको उडान बन्द भएपछि उक्त रुटमा यात्रुको चाप बढ्दै गएकोले निगमले उडान थपेको हो । 
आवश्यकता अनुसार दिल्लीसहित भारतका अन्य विन्दुमा पनि उडान बढाउने तयारीमा रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताउनुभयो । ‘‘सी चेकपछि हाम्रो न्यारोबडी यसै हप्ता नेपाल आउँदैछ’’– उहाँले भन्नुभयो, त्यसपछि पनि उडान बढाउन सकिन्छ । ’ दुईवटा वाइडबडी र दुईवटा न्यारो बडीबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले जहाज अभावका कारण थप गन्तव्य बढाउन समस्या भइरहेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्नका लागि अहिले राति १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णतः उडान बन्द गरेर नोटाम जारी भएकोले उडान विस्तारमा असर परिरहेको उहाँको भनाइ छ । 
निगमले हाल विभिन्न आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यसबाहेक करिब डेढ दशकपछि आगामी असार १९ गते निगमले जापानको ओसाकामा उडान गर्ने तयारी गरेको छ । ओसाका उडानको तालिकासमेत निगमले सार्वजनिक गरिसकेको छ । निगमकाअनुसार त्यहाँ हप्तामा तीनवटा उडान हुनेछ । निगमले दिल्लीबाहेक भारतको मुम्बई र बेङ्गलोरमा उडान गरिरहेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *