कुलमान घिसिङ्ग भन्छन्, ‘क्षतिको विवरण आकलन नै गर्न सकिरहेका छैनौँ’

काठमाडौँ – हावाहुरीका कारण बारा र पसामा विद्युत आपूर्ति पूर्ण रुपमा बन्द भएको छ । आइतबार बेलुका आएको हावाहुरीले ट्रान्सफरमरसहित बिजुलीका पोल उडाएको तथा तार चुँडाएका कारण विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले जानकारी दिएका छन् ।

हेटौँडाबाट विरगञ्ज जाने ६६ केभी प्रशारण लाइनको तार नै चुँडिएको घिसिङले जानकारी दिए । घिसिङले देश सञ्चारसँग भने, ‘६६ केभी प्रशारण लाइनको तार नै टिनको पाताका कारण चुँडिएको छ । यसले गर्दा विद्युत आपूर्ति रातिदेखि नै बन्द छ । बारा र पर्साका अधिकांश क्षेत्रमा पोलहरु ढलेका छन् भने तार चुँडिएका छन् ।’

क्षतिको आँकलन तत्काल गर्न सकिने अवस्था नरहेको उनले बताए । सुरक्षाका हिसाबले पनि विद्युत आपूर्ति बन्द गरिएको उनले बताए । बिहानैदेखि ६६ केभी प्रशारण लाइनको तार जोड्ने प्रयास भएको र अरु ठाउँको अवस्था पनि मुल्यांकन भइरहेको उनले बताए ।

उनले भने, ‘दिउँसोसम्ममा कलैया, विरगञ्जसहितका प्रमुख शहरमा विद्युत आपूर्ति गर्ने गरि काम भइरहेको छ । गाउँ क्षेत्रमा भने कहिलेसम्म विद्युत आपूर्ति गर्न सकिन्छ अहिले भन्न सकिने अवस्था छैन ।’

प्रायः ठाडो पोल नरहेको र तारहरु चुँडिएकाले समय लाग्ने देखिएको उनले बताए । विद्युत क्षेत्रमा हावाहुरीले गरेको क्षति अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *