महिलाले विस्थापित गर्छन् भन्ने डरमा छन् पुरूषहरू’

त्रिपुरारी शर्माले निर्देशन गरेको नाटक ‘रूप आरुप’ भर्खरै नेपालमा सम्पन्न ‘अन्तर्राष्ट्रिय नाटक महोत्सव’मा मञ्चन भयो। महिलाले पहिलोपल्ट स्टेज टेक्दाको प्रसंग नाटकमा छ। लामो समय महिला बनेर अभिनय गर्ने पुरुषले स्टेजमा साँच्चै महिला आइपुग्दा कस्तो महशुस गरे भन्ने कथा देखाउँदै यसले महिला जागरणसँगै सामाजिक आन्दोलनका विविध पाटा खोतल्छ।

सुरज सुवेदी र सौरभ कार्कीले लिएको यो अन्तर्वार्तामा कलाकार ह्याप्पी रञ्जित र गौरी देवलले नाटक निर्माण प्रक्रियासँगै त्यसका विभिन्न राजनैतिक, आर्थिक र सामाजिक तहमा कुराकानी गरेका छन्। ह्याप्पी र गौरी श्रीमान् श्रीमती हुन्। उनीहरू ‘युनिकर्न एक्टर्स स्टुडियो’ चलाउँछन्।

यो नाटक कसरी बन्यो?

ह्याप्पी: रोचक कुरा, नाटक लेख्ने पुरानो तरिकामा यो लेखिएन। कुनै स्क्रिप्ट तयार थिएन। एनएसडीकी प्राध्यापक त्रिपुरारी शर्माले गरेको ‘रंगधुली’ नाटकको छोटो सिक्वेन्सले मलाई तान्यो। त्यसले नौटंकी नाचका विभिन्न पक्ष केलाएको थियो। महिलाहरू स्टेजमा आइनसकेको समयमा सेट गरिएको उक्त नाटकको एक दृश्यमा पुरुष पात्रले महिलाका लागि ठाउँ छोड्दिनुपर्छ। किनकि महिलाहरू पहिलोपल्ट स्टेजमा आउँछन्।

मलाई त्यो विस्थापनको दृश्यले लामो समय घुमाइरह्यो। एक दिन म्यामलाई गएर उक्त सिक्वेन्स बढाउन मन लागेको सुनाएँ। मन छ भने गर भन्नुभयो। अनि काम गरेँ। त्यसैले नाटकको अन्त्य जहाँ भएको थियो त्यहाँबाट पछाडि पछाडि फर्किँदै गयौं। सबै कुरा ‘इम्प्रोभाइजेसन’ गर्दै तयार भएको हो।

त्यो सिक्वेन्स नै किन? त्यसले अल्झाउनुपर्ने कुनै खास कारण?

ह्याप्पी: त्यसले धेरै कोणबाट सोच्ने बनायो। अहिले हामी महिला स्वतन्त्रताको कुरा गरिहरहेका छौं। त्यही दृश्यमा महिला पहिलोपल्ट स्टेजमा आएका छन्। तिनीहरूले लामो समयदेखि उनीहरूको स्थान ओगटेका पुरुषहरू हटाउनु छ।

सँगै लामो समय महिला भएर खेलेका पुरुषका लागि कठिन क्षण हो त्यो। ऊ त्यसैमा अभ्यस्त भएको छ। आफूलाई भुलेको छ। र ऊ त्यहाँबाट निस्किएपछि अन्त कतै काम नपाउन पनि सक्छ। महिलाको विजय तर पुरुषको दुखान्त एउटै सिक्वेन्समा भेटेको थिएँ। परिवर्तनका लागि कहीँ न कहीँ कसैले न कसैले आफूले पाइरहेको भाग त छोड्नुपर्छ।

हेनरिक इब्सनको नाटक ‘मास्टर बिल्डर’ मा एक जना भेट्रान इन्जिनियर नयाँ पुस्ताले आफ्नो ठाउँ ओगट्ला भनेर खुब डराउँछ। यहाँ पनि एक महिलालाई आफ्नो ठाउँ छोड्न एक पुरुष डराएको छ। एउटा मान्छेलाई अर्को मान्छेबाट प्रतिस्थापित हुन किन गाह्रो भएको होला?

गौरी: यो गाह्रो काम हो। हरेक व्यक्ति कुनै न कुनै समयमा ठाउँ छोड्ने कि नछोड्ने भन्ने दुविधामा परेकै हुन्छ। हत्पत्त आफूले पाएको ठाउँ छोड्न मान्दैन। तर कसैले न कसैले, कसैलाई न कसैलाई चुनौती त दिनुपर्छ। महिलालाई त झन् सक्दैनौ भनेर कति ठाउँमा पुग्न दिइँदैन। आफ्नो अधिकार पाउनै ठूलो लडाइँ लड्नुपर्छ।

हामीले पहिलोपल्ट सडकमा गाडी कुदाउँदा पनि मान्य थिएन। अहिले पनि अनौठो मान्छन्। हरेक क्षेत्र वा पेशा पुरुषले आफ्नो पेवा जस्तो बनाएका छन्। नाटकमा पनि यही भएको हो। एक पुरुष महिलालाई महिला हुने तरिका सिकाइरहेको छ। ऊ आफैं पूर्ण पुरुष हैन। तर एक महिलालाई पूर्ण महिला हुने तरिका सिकाइरहेको छ।

ह्पाप्पी: म लैंगिक कोणबाट थोरै बाहिर जान चाहन्छु। कुरा यति मात्र हैन। यहाँ एक व्यक्ति अर्को व्यक्तिमार्फत धेरै तरिकाले विस्थापित भइरहेको छ। मैले आज कुनै समूह चलाइरहेको छु, भोलि कोही आउनेछ। म रिटायर हुनुपर्छ। हामी सबैले कुनै न कुनै दिन कसै न कसैबाट प्रतिस्थापित हुनैपर्छ। यो सत्य हो जसलाई स्वीकार नगरेर भाग्ने ठाउँ छैन। हामी नै अन्तिम हैनौं। त्यसैले नयाँ पुस्ता तयार गर्नु सधैं जरुरी हुन्छ।

हरेक रचनात्मक मान्छेले आफूले थालनी गरेको काम आउँदो पुस्तामा लैजान सक्ने बिउ खोज्नुपर्छ। गाह्रो छ तर पनि हामीले ठाउँ छोड्नुपर्छ।

यो पात्रमा गरिरहँदा तपाईंलाई किन त्यस्तो लाग्यो। उसलाई छोड्न किन गाह्रो भएको रहेछ?

ह्याप्पी: यो धेरै जटिल कुरा हो, त्यसैले यही कारण हो भनेर ठोकुवा गर्न सकिँदैन। कारण ‘इगो’ हुन सक्छ। असुरक्षा हुनसक्छ। अरूलाई स्वीकार गर्न नसक्ने कमजोरी पनि। यो नाटकमा पनि ऊ महिलालाई बारम्बार ‘तँ म जस्तो छैनस्, त्यसैले मलाई प्रतिस्थापन गर्न योग्य छैनस्’ भनिरहन्छ।

उसले सोचेको महिलाको परिभाषामा ऊ योग्य नभएकी त हो। तर परिभाषा त त्यही मात्र हैन। हाम्रो समाजले अरूलाई ठाउँ ओगट्न नदिन यस्तै तरिका लगाइरहन्छ। नयाँ नयाँ बहाना खोजिरहन्छ।

अहिले थिएटरका युवापुस्तालाई कसरी हेर्नुभएको छ? के उनीहरू विस्थापित गर्न सक्ने क्षमताका छन्? गुरु र शिष्यको सम्बन्धमा यो डर कतै बसिरहेको छ कि छैन?

ह्याप्पी: थिएटरमा गुरु र शिष्यको सम्बन्ध फेरिएको छ। पहिलाको गुरुकुलमा जस्तै गुरु भेट्न कठिन मिहेनत गर्नुपर्दैन। सँगै काम गर्ने धेरै तरिका स्थापित छन्। नाटकले उनीहरूको क्षमता नापिरहन्छ। धैर्य जाँचिरहन्छ।

मेरो अनुभवमा अहिलेको आधुनिक पुस्तालाई हतार छ। उनीहरूलाई जे कुरा पनि चाँडो चाहिन्छ। यदि तपाईं उनीहरूको लागि प्रश्न गर्न डर लाग्ने शिक्षक बन्नुभयो भने उनीहरूले शिक्षक नै परिवर्तन गर्नेछन्। हरेक सम्बन्धमा एकअर्काका लागि ठाउँ चाहिन्छ। थिएटरमा झन् चाहिन्छ।

त्यो सम्बन्ध अघि बढाउन स्थापित भइरहेका नयाँ नयाँ ‘फर्म’को भूमिका कस्तो पाउनुभएको छ?

ह्याप्पी: पहिला निर्देशक निरंकुश हुन्थे। यसो गर्नुपर्छ, यस्तै हुनुपर्छ भन्थे। पात्रप्रति आफ्नो बुझाई लाद्न चाहन्थे। अहिले आइरहेका नयाँ नयाँ फर्मले दोहोरो कुराकानी र छलफल माग्छन्। एकअर्कालाई सुन्ने माध्यम बनाइदिन्छन्।

पहिलाको जस्तो निश्चित स्वरूपमा बनाइएको पात्रभन्दा पनि पात्र भएर अभिनय गरिरहने कलाकारले उसको पारिवारिक, सामाजिक, भौगोलिक परिवेश अनुसार विवेचना गर्न सक्छ। त्यसरुपमा हेर्दा थिएटर अझै द्विपक्षीय र समावेशी भइरहेको छ। यो राम्रो हो।

नाटकमा प्रस्तुत भएकी महिला र तपाईं फरक फरक समुदायबाट हुनुहुन्छ। एउटा समुदायको कथा अर्को समुदायको कलाकारले अभिनय गर्दा के चुनौती हुने रहेछ। त्यहाँसम्म पुग्न के के तरिका अपनाउनुभयो?

गौरी: एक कलाकार जुनसुकै पात्रसम्म पनि पुग्न सक्नुपर्छ। मैले यो नाटकमा अभिनय गरेकी पात्र एक वेडिन समुदायकी महिला हो। मैले ती समुदायका मान्छे देखेकी पनि छैन। उनीहरू कुन खाले समस्याबाट गुज्रिरहेका छन् भन्ने भोगेकी छैन। तर मैले पर्याप्त खोज गरेकी छु।

त्रिपुरारी म्यामले नौटंकी नाटकबारे लामो अध्ययन गर्नुभएको थियो। उहाँले संकलन गरेका सामग्री तथा भिडियो प्रशस्त हेरेर उसका लागि तयार हुन सकेँ। पहिला नृत्यंगना भएका केही महिला पनि भेटेँ।

पहिला पुरुषले मात्र नौटंकी गर्थे वा स्टेजमा प्रस्तुति दिन्थे भन्नुभयो। त्यसपछि महिला स्टेजसम्म कसरी आइपुगे त?

गौरी: अहिले पनि यक्ष गाना, कत्थकली जस्ता फर्ममा महिलाले काम गर्न पाउँदैनन्। र पहिलोपल्ट स्टेजमा आउने महिला ठूला घरानाका हैनन्। उनीहरू बाहिर पुगेर नाच्न कहिल्यै सकेनन्। अहिले पनि सक्दैनन्। तिनको संख्या थिएटरमा पनि कम छ। त्यस्तो वर्गको महिला कोही थिएटरमा आउँदा चरित्रमा शंका गर्नेहरू अहिले पनि छन्। कति धेरै महिला परिवारले असुरक्षित महशुस गरेकै कारण थिएटरमा छैनन्।

ह्याप्पी: वेडिन समुदायका महिला पहिला खुला ठाउँमा नाच्थे। प्रायःका परिवार हुन्थेनन्। यौनकर्मी भएर पनि काम गर्थे। त्यहाँ नाच्दा उनीहरूमाथि धेरै खाले शोषण हुन्थे। उनीहरू त्यसबाट भाग्न चाहन्थे। उनीहरूका लागि खुला स्थलभन्दा थिएटर सुरक्षित भइदियो। थिएटरमा पनि उनीहरूको प्रवेशले क्रान्ति गर्‍यो। सँगै त्यसले उनीहरूलाई इज्जत पनि दियो।

वेडिन समुदायका महिलाको अवस्था अहिले कस्तो छ?

ह्याप्पी: अहिले धेरै राम्रो छ। उनीहरूले पढ्न पाएका छन्। शिक्षाले राम्रो कुरा गरेको छ। सँगै उनीहरू फिल्म उद्योगतिर पनि गएका छन्। त्यहाँ नाच्ने काम गर्छन्। त्यसैले त नाटकको अन्तिम दृश्यमा फिल्मका गीत देखाइएको थियो। उनीहरू खुला स्थानबाट नाच्न सुरु गरेर फिल्मसम्म पुगे भन्ने हामीले नाटकमार्फत देखाएका हौं। आर्थिक रूपमा स्वालम्बी भएर उनीहरूले धेरै प्रगति गरे।

पुरुषले महिलालाई कसरी बुझेका छन् जस्तो लाग्छ?

ह्याप्पी: जति पनि महिला हामीले देखेका छौं ती सबै पुरुष दृष्टिकोणबाट देखेका हौं। पुरुषहरू छाला हेर्न चाहन्थे। त्यसैले छाला यस्तो हुनुपर्छ भने। यो सबै कुरा पुरुषले बनाएका हुन् किनकि पुरुषहरू पहिला प्रस्तुति दिन्थे। नाटकमा त्यसैले वास्तविकता र अवास्तविकताको ठूलो द्वन्द्व छ।

एक अवास्तविक पुरुष वास्तविक महिलालाई महिला यस्तो हुनुपर्छ भन्ने सिकाइरहेको छ। यस्तो सबैतिर भइरहेको छ। जो जे हैनन् उनीहरू त्यही कुरा अरूलाई सिकाउँदै हिँडिरहेका छन्। किनकि उनीहरू म त्यो हुँ भन्ने भ्रममा लामो समय बसेका छन्।

नाटकमा एउटा प्रश्न छ ‘ये सब सच नहीँ है तो सच क्या होता है’। तपाईंका लागि सत्य के हो?

ह्याप्पी: सत्य के हो मलाई थाहा छैन। यो सामाजिक सञ्जालको युगमा त हामी सत्य पछाडिका सत्यमा बाँचिरहेका छौं। आजकाल धेरै सत्यहरू बनाइन्छन्। तपाईंका लागि जे सत्य हो, त्यो मेरो लागि हैन। निर्मित सत्यको भुलभुलैयामा हामी हराउँदै गएका छौं।

महिला पात्रले ‘इज्जत नै सबै कुरा हैन’ भन्छे। तपाईंका लागि इज्जत के हो?

गौरी: महिलाले नै सधैँ सतीसावित्री बन्नुपर्छ भन्ने छैन। कुनै परिवारको इज्जत एक महिलाले मात्र किन बोक्ने? महिला देवी हैनन्। मानव हुन्। उनी सही र गलत दुवै हुन सक्छिन्। मलाई एक महिलाको रूपमा मान्नुपर्छ। चिन्नुपर्छ। यसलाई इज्जत, प्रतिष्ठासँग जोड्ने कसैको अधिकार छैन।

समाजमा अहिले ध्रुविकरण बढ्दो छ। यस्तो बेलामा मान्छेहरू कुनै एक पक्षमा लाग्छन् वा लाग्नुपर्ला भनेर डराउँछन्। यसमा तपाईं आफूलाई कहाँ पाउनुहुन्छ?

ह्याप्पी: कुनै प्रस्तुति दिनु पनि राजनीति नै हो। हामीले गरेको ‘स्ट्रेट प्रपोज’ नाटकले लैंगिक अल्पसंख्यक अधिकारबारे बोलेको छ। त्यो कुरा राजनीतिक नै हो। भारतको संविधानले समलिंगी सम्बन्धलाई गैरकानुनी भन्यो। हामीले त्यसको विरोध गर्‍यौं। उनीहरूलाई अधिकार दिनुपर्छ भन्यौं। त्यो नाटक त्यही दिन मञ्चन भयो जुन दिन नरेन्द्र मोदीले चुनाव जितेका थिए।

अहिले भारतमा थिएटरको अवस्था कस्तो छ?

गौरी: फरक फरक राज्यमा फरक फरक अवस्था छ। महाराष्ट्र वा पश्चिम बंगालमा राम्रो छ। त्यहाँ महिलाले परिवारबाट पनि साथ पाउँछन्। तर हरियाणा, उत्तर प्रदेश र बिहारमा अहिले पनि गाह्रो छ।

ह्याप्पी: ८० प्रतिशतभन्दा धेरै समूह ग्रान्ट्समा काम गर्छन्। सरकारको पैसा लिएपछि त्यतै झुक्नु परिगयो। उनीहरू भन्छन् ‘यदि गान्धीमा नाटक गर्छौ भने पैसा दिन्छौँ’। सबै गान्धीको पछाडि कुदिरहेका छन्। रामको कथामा दिमाग लगाइरहेका छन्। उनीहरूसँग कुनै अडान बाँकी छैन। मलाई लाग्छ सरकारमा जो गए पनि रंगकर्मीले सही र गलत उनीहरूलाई जहिल्यै सुनाइरहनुपर्छ। त्यसैले पनि भनिएको होला राजनीतिज्ञलाई नसुन, कविलाई सुन।

भारतीय बाटो हुँदै आउने भिसा नपाएको कारण बंगलादेशको एक नाटक नेपाल आउन पाएन। यसमा के भन्नुहुन्छ?

ह्याप्पी: आतंकवादीलाई रोक्न नसक्नेहरू रंगकर्मीलाई रोकेर कायर बनिरहेका छन्। हामीले यसविरुद्ध लड्नुपर्छ। माथि उल्लेख गरेको नाटक हामीलाई भोपालमा त मञ्चन गर्न दिएनन्। आफ्नै देशभित्र प्रतिबन्धित हुनुपर्ने अवस्था कलाकारको लागि विडम्बना हो।

भर्खरै राम मन्दिर बनाउने विषयमा भारतमा ठूलो दंगा भयो। केही भन्न चाहनुहुन्छ?

यो मूर्ख कुरा हो। भगवानलाई घरमा राख्नुपर्छ। हामीलाई अहिले मन्दिर हैन राम्रो अस्पताल चाहिएको छ। सबैले राम्रो शिक्षा लिन पाउने शिक्षण संस्थाहरू चाहिएका छन्।

ह्याप्पी रञ्जित
सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *