कर्मचारीलाई बाहिरी कार्यक्रममा रोक

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारीलाई आफूखुसी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रममा जान रोक लगाएको छ । व्यक्तिगत पहुँचमा कर्मचारी मनपरी रूपमा बाहिरी कार्यक्रममा जाने र विचार व्यक्त गर्ने प्रवृत्ति बढेपछि मन्त्रालयले त्यसमा अंकुश लगाएको हो ।

व्यक्तिगत पहुँचमा यस्ता कार्यक्रममा जानु आचारसंहिताविपरीत रहेको मन्त्रालयको दाबी छ । साथै कार्यक्रममा आफूखुसी गएर कर्मचारीले व्यक्त गरेका विचार मन्त्रालयको आधिकारिक भनाई नहुनेसमेत उसले मातहतका निकायलाई जारी गरेको निर्देशनमा उल्लेख छ ।

कार्यक्रममा जानुपर्ने भए सम्बन्धित कर्मचारीले आफ्नो कार्यालय प्रमुखलाई अनिवार्य निमन्त्रणापत्र देखाउनुपर्ने र सान्दर्भिक भए मात्र कार्यक्रममा जान अनुमति दिने मन्त्रालयका सचिव खगराज बरालले हस्ताक्षर गरेको निर्देशनमा उल्लेख छ । आयोजकले पठाउने निमन्त्रणापत्र पनि व्यक्तिलाई नभई संस्थागत रूपमा सम्बोधन गरेको हुनुपर्नेछ ।

व्यक्तिविशेषलाई किटान गरेर आएको पत्रमा सम्बन्धित विभागले कुनै कारबाही नगर्ने मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय मन्त्रालय तथा मातहतका कर्मचारी स्वदेशी तथा विदेशी संस्थाले आयोजना गर्ने कार्यक्रममा अतिथिका रूपमा सहभागी हुने र समसामयिक विषयमा आफ्नो धारणा राख्ने प्रवृत्ति बढ्दै गएको छ । कतिपय कर्मचारी सरकारी लोगो प्रयोग गरी यस्ता संस्थासँग व्यक्तिगत पहुँच स्थापित गर्ने, कार्यक्रममा अतिथि वा सहभागीका रूपमा आमन्त्रण गर्न अनुरोध गर्ने र निमन्त्रणा आएपछि बिदा लिएर आफूखुसी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ ले पनि कार्यालयबाट बिदा लिई सरकारी कार्यालयलाई आएको निमन्त्रणामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ । निर्देशिकाविपरीत सहभागी हुने कर्मचारीलाई कारबाही हुने व्यवस्था छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *