सरकारकाे पहिलाे वार्षिकीकाे दिन पानीजहाजको केन्द्रीय कार्यालय उद्घाटन हुने

Spread the love

जनकपुर- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले चुनावमा गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने दाबी गरेका छन्।

मन्त्री महासेठले दुई तिहाई बहुमतको वर्तमान सरकारले चुनावमा गरेका प्रतिबद्धता अनुसारका काम गरिरहेको भन्दै अबको ४ वर्षमा ती प्रतिबद्धता पूरा गरेर देखाउने दाबी गरेका हुन्।

उनले सरकारले पूर्वाधारको क्षेत्रमा सडक मार्ग, रेल मार्ग र जल मार्गमार्फत् विकास गर्ने कामको सुरुवात भएको बताए।

‘सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा हामी पानीजहाजको केन्द्रीय कार्यालय उद्घाटन गर्दैछौँ’, महासठले भने। पूर्व–पश्चीम–उत्तर–दक्षिण रेल मार्ग, विद्युतीय रेल, काठमाडौं–केरुङ रेल मार्ग निर्माण लगायतका कामलाई सरकारले प्राथामिकताको साथ अगाडि बढाइरहेको मन्त्री महासेठले बताए।

धनुषा र महोत्तरी जोड्ने रातु खोलामा निर्माण गरिएको पक्की पुलको बुधबार उद्घाटन गर्दै मन्त्री महासेठले सरकारले गरिरहेको विकासको काम देखेर विपक्षीहरू आत्तिएको धारणा राखे। उनले भने, ‘सरकारको विकासको कामको गति देखेर विपक्षीहरू आत्तिएका छन्, नचाहिदो एजेण्डा बोकेर सरकार विरुद्ध जनतामा भ्रम छरिरहेका छन्।’

उनले प्रतिपक्षमा रहेका पार्टीहरूलाई इंगित गर्दै भने, ‘विकासको सवालमा राजनीति नगर्नुस्, बरू आउनुस्, सहकार्य गरेर देशको विकास गरौं।’ राजनीति चुनावको बेलामा मात्र गर्न समेत मन्त्री महासेठले आग्रह गरे।

यसअघि मन्त्री महासेठले सिन्धुलीको दुधौली नगरपालिका कमलाखाेंचमा निर्मित पक्की पुलको समेत उद्घाटन गरेका थिए। साे क्रममा बाेल्दै महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताएका थिए। उनले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने दाबी गरे।

उनले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताए। ‘बर्दिबासबाट निजगढ, काँकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौं काँकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट सुरु गर्ने सरकारको योजना छ’, उनले भने।

सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको पनि मन्त्री महासेठले जानकारी दिए। पाँच वर्षभित्र पूर्व–पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौँदेखि केरुङ अबको ६ महिनामा डिपिआर तयार भइसक्ने उनकाे दाबी थियाे।

जनकपुर–जयनगर रेल केही समयमा नै सञ्चालन गर्नेसमेत मन्त्री महासेठले जानकारी दिए।

समयसीमाभन्दा १६ महिनाअघि नै बन्याे पुल

पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनापूर्व नै नयाँ पुल निर्माण सम्पन्न भएको हो। कूल २ सय ५० मिटर लम्बाई र १० दशमलब ९० मिटर चौडाईको यो पुल निर्माणको काम सकिएर साउनदेखि नै प्रयोगमा आइसकेको थियो।

पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौंसँग जोड्ने यो पुल ‘लाइफलाइन’कै रुपमा रहेको छ। पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो।

पुल २४ करोड ६० लाख रुपैयाँ बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो। कूल ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ। यसमा १०–१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले बताए।

कमलाखाेंचकाे पुल बन्दा स्थानीयलाई सहज

कमलाखाेंचमा बनेको पहिलो पुलमा १० वटा स्पान रहेको र पुलको लम्बाई ५ सय मिटर रहेको पुल निर्माण गर्ने कालिका तुत्दी–रुवा जेभी काठमाडाैंका प्रबन्धक निर्देशक राजेन्द्र आचार्यले बताए। पुल निर्माण भएको ७ सय ५० मिटर दायाँ-बायाँ क्षेत्रमा नदी नियन्त्रणसमेत गरिएको छ।

पुलको चौडाई १० दशमलब ५ मिटर छ भने १ दशमलब ५ मिटर दुवैपट्टि फुटपाथ छ। पुल निर्माण गर्न ६१ करोड २२ लाख रुपैयाँमा सम्झौता भएकोमा हालसम्म ६० करोड ९० लाख रुपैयाँ निकासा भएको उनको भनाइ थियो।

कम्पनीले सिन्धुलीको मरिणमा पनि सम्झौताभन्दा अघि नै ४ सय मिटर लामो पक्की पुल निर्माण गरी हस्तान्तरण गरिसकेको छ। कमलाखोँचमा पुल बनेपछि वर्षामा कमला नदी तर्न नसक्दा बिरामीले उपचार गर्न नपाउने, आवात–जावत रोकिनुपर्ने बाध्यता हटेको छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *